काठमाडौं,०६ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ आज देशभर उम्मेदवारी दर्ता हुँदैछ। निर्वाचन आयोगले देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरी उम्मेदवारी दर्ताका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको जनाएको छ।
निर्वाचन आयोगले उम्मेदवारी दर्ताका क्रममा कुनै पनि तडकभडक नगर्न, शान्तिपूर्ण र मर्यादित रूपमा निर्वाचन कार्यालय पुग्न सबै राजनीतिक दल तथा सम्बन्धित उम्मेदवारहरूलाई आग्रह गरेको छ।
भीडभाड कम गर्ने र उम्मेदवारी दर्ता प्रक्रियालाई सहज बनाउने उद्देश्यले आयोगले प्रमुख राजनीतिक दल तथा उम्मेदवारहरूका लागि समयसमेत तोकेको जनाएको छ।
आयोगले यसअघि समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारहरूको अन्तिम सूची सार्वजनिक गरिसकेको छ। कूल २७५ सदस्यीय प्रतिनिधिसभामध्ये ११० जना समानुपातिक प्रणालीबाट र १६५ जना प्रत्यक्ष प्रणालीबाट निर्वाचित हुने संवैधानिक व्यवस्था छ।
गत भदौ २३ र २४ गते भएको जनआन्दोलनपछि निर्वाचन प्रयोजनका लागि गठन भएको अन्तरिम सरकारले निर्वाचनका लागि आवश्यक साधन र स्रोत उपलब्ध गराइसकेको छ। निर्वाचन सुरक्षाका लागि निर्वाचन प्रहरी छनोट प्रक्रिया समेत सुरु भइसकेको आयोगले जनाएको छ।
अधिकांश राजनीतिक दलहरूले उम्मेदवार छनोटको प्रक्रिया पूरा गरिसकेका छन् भने बाँकी दलहरूले पनि आज बिहानसम्म उम्मेदवार टुंग्याउने बताएका छन्। नेपाली कांग्रेसले केही निर्वाचन क्षेत्रमा उम्मेदवार छनोट प्रक्रिया जारी रहेको जनाएको छ भने नेकपा (एमाले) ले सबै निर्वाचन क्षेत्रमा उम्मेदवार छनोट गरिसकेको छ। एमाले, नेकपा, राष्ट्रिय स्वतन्त्र पार्टीलगायत दलहरूले उम्मेदवारलाई आधिकारिक पत्रसमेत प्रदान गरिसकेका छन्।
निर्वाचन आयोगले निर्धारण गरेको कार्यतालिका अनुसार आज देशभर उम्मेदवारको मनोनयन दर्ता हुनेछ। उम्मेदवारले मनोनयन दर्ताका लागि नागरिकताको प्रमाणपत्र वा मतदाता परिचयपत्रको प्रतिलिपि अनिवार्य रूपमा पेस गर्नुपर्नेछ। साथै सम्बन्धित गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको प्रमाण पनि आवश्यक हुनेछ।
निर्वाचन आयोगले निर्वाचनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको जनाउँदै आज देशभर उत्साहपूर्वक रूपमा उम्मेदवारी दर्ता प्रक्रिया अघि बढ्ने विश्वास व्यक्त गरेको छ। विसं २०७९ मा निर्वाचित प्रतिनिधिसभा गत भदौको आन्दोलनपछि विघटन भएपछि नयाँ निर्वाचन हुन लागेको हो।

