वीरगंज,२६ मंसिर । वीरगंजमा प्रहरीले ठूलो परिमाणमा लागूऔषधसहित कारोबारमा संलग्न रहेको एक गिरोहलाई पक्राउ गरेको छ । प्रहरीले कुल ७६ हजार १७० पिस प्रतिबन्धित लागूऔषध ट्रामाडोल हाइड्रोक्लोराइड क्याप्सुलसहित चार जनालाई दुई फरक स्थानबाट नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक सुदिपराज पाठकले पत्रकार सम्मेलनमा मार्फत सार्वजनिक गर्दै लागुऔषध गिरोहलाई सार्वजनिक गरेका हुन् ।
पक्राउ पर्नेमा पर्सा जिल्ला वीरगंज महानगरपालिका वडा नं. २४ रामगढवा बस्ने २० वर्षीय युवराज पटेल, २१ वर्षीय अफजल देवान, धादिङको बेनिघाट रोराङ–६ बस्ने १९ वर्षीय रामहरि मगर तथा धादिङकै सिद्लेख–७ बस्ने १९ वर्षीय राजकुमार मगराती रहेका छन् । प्रहरी उपरीक्षक पाठकका अनुसार मंसिर २३ गते वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरी टोलीले वीरगंज महानगरपालिका वडा नं. १५ प्रतिमा चौकस्थित टिकट काउन्टर अगाडि रोकिएको बागमती प्रदेश–०८–००१ ज ०११७ नम्बरको ईभी माइक्रोबसमा चेकजाँच गर्ने क्रममा ठूलो परिमाणको लागुऔषध बरामद भएको थियो ।
चेकजाँचको क्रममा गाडीभित्र सवार रामहरि मगर र राजकुमार मगरातीको सुटकेसभित्र लुकाइ राखिएको ६० हजार ५३० पिस ट्रामाडोल क्याप्सुल बरामद भएपछि दुवैजनालाई प्रहरीले तत्काल नियन्त्रणमा लिएको थियो । सुरुमा पक्राउ परेकाद्वारा दिइएको बयानका आधारमा खटिएको प्रहरी टोलीले वीरगंज महानगरपालिका वडा नं. २४ रामगढवामा पुगेर युवराज पटेल र अफजल देवान बस्दै आएको डेरामा छापा मारेको थियो । सो क्रममा उनीहरूको डेरामा रहेको कार्टुनबाट थप १५ हजार ६४० पिस ट्रामाडोल हाइड्रोक्लोराइड क्याप्सुल फेला पारेपछि दुवैजनालाई पनि नियन्त्रणमा लिइएको एसपी पाठकले जानकारी दिए ।
भारतको कोलकत्ताबाट नेपालमा तस्करी
वीरगंजबाट ठूलो परिमाणमा लागुऔषध बरामद भएपछि प्रहरीले अनुसन्धानलाई तिब्रता पारेको थियो । लागुऔषध सहित पक्राउ परेका चारैजना भरियाको रुपमा प्रयोग भएको देखिएपछि प्रहरीले अनुसन्धानलाई थप गम्भिरताको रुपमा तिब्रता दिएको थियो । प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार उक्त गिरोहले भारतको कोलकत्ताबाट अवैध रूपमा लागूऔषध ल्याई रक्सौल–वीरगंज नाका हुँदै चोरी छिपी नेपाल भित्र्याउने गरेको खुलेको छ । वीरगंजलाई केन्द्र बनाइ काठमाडौंलगायतका शहरमा आपूर्ति गर्ने गतिविधिमा उनीहरू सक्रिय रहेको प्रहरीको भनाइ छ ।
उक्त गिरोहमा संलग्न अन्य तीन जनाको पनि परिचय खुलिसकेको र उनीहरूको खोजी तीव्र रूपमा जारी रहेको प्रहरीले जनाएको छ । हाल पक्राउ परेका चारै जनालाई जिल्ला अदालत पर्साबाट ७ दिनको म्याद थप अनुमति लिई हिरासतमा राखेर लागूऔषध सम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको एसपी पाठकले बताए ।

