कलैया,१८ मंसिर । बाराको कलैयास्थित यातायात कार्यालयमा बुधबार साँझ कार्यालय प्रमुख अबिन्द्र दास र खरिदार सत्यनारायण साहबीच कुटाकुट भएको छ। साँझ करिब साढे पाँच बजे कार्यालयमै भएको विवाद हातहालाहालमा बदलिँदा दुवै जना घाइते बनेका छन्।
कुटाकुटका क्रममा खरिदार साहको अनुहारमा चोट लागेर सुन्निएको छ भने कार्यालय प्रमुख दासको अनुहारमा समेत घाउ परेको प्रहरीले जनाएको छ। घटनापछि जिल्ला प्रहरी कार्यालय बाराबाट पुगेको टोलीले घटनामा संलग्न पाँच जनालाई नियन्त्रणमा लिएको थियो।
यातायात कार्यालय कलैयाका सूचना अधिकारी जीवन पौडेलका अनुसार कार्यालय प्रमुख दासको सरुवा भइसकेको र हाजिरका विषयमा उत्पन्न विवाद चर्कँदै कुटाकुटसम्म पुगेको हो। खरिदार साहले सरुवा भइसकेका दासलाई हाजिर प्रक्रिया पूरा गरी नयाँ कार्यालय प्रमुख सरोज यादवलाई कार्यभार हस्तान्तरण गर्न सुझाएपछि दुवैबीच विवाद सुरु भएको बताइएको छ।
सोही क्रममा कार्यालय प्रमुख दासका चालकले साहमाथि हात हाल्दै झगडा बढेको जानकारी दिइएको छ। घटनामा संलग्न सबैलाई प्रहरीले नियन्त्रणमा लिएर छलफल गरेपछि कार्यालयकै स्तरमै विवाद समाधान गर्ने सहमति भएको छ।
यस विषयमा शुक्रबार बस्ने बैठकले अन्तिम निष्कर्ष निकाल्ने सहमतिसहित पक्राउ परेकालाई प्रहरीले सोही दिन छोडेको जनाएको छ।

