काठमाडौँ,०८ मंसिर । नेपालका लागि नेपाली पार्टीले आगामी निर्वाचनलाई थप पारदर्शी, विश्वसनीय र खर्च–नियन्त्रित बनाउन निर्वाचन आयोगलाई विस्तृत सुझाव दिएको छ। पार्टीले उम्मेदवारहरूले चुनावमा गर्ने दैनिक खर्च अनिवार्य रूपमा सार्वजनिक गर्नुपर्ने तथा सम्पूर्ण खर्च व्यवस्थापन विद्युतीय प्रणालीमार्फत गर्नुपर्नेमा जोड दिएको छ।
पार्टीका अध्यक्ष सुशीलचन्द्र अधिकारीद्वारा आयोगमा पठाइएको सुझावपत्रमा डिजिटल ट्रान्जेक्सन अनिवार्य गरेमा खर्च पारदर्शी र व्यवस्थापन सरल हुने उल्लेख छ। “चुनाव खर्च सीमा उल्लंघन रोक्न सबै खर्च डिजिटल माध्यमबाट गर्नुपर्ने व्यवस्था आवश्यक छ,” सुझावपत्रमा भनिएको छ।
दैनिक खर्च अनलाइन अपलोड अनिवार्य गर्ने प्रस्ताव
पार्टीले हरेक उम्मेदवारले आफ्नो दैनिक खर्च विवरण आधिकारिक अनलाइन पोर्टलमा अपलोड गर्न अनिवार्य व्यवस्था गर्नुपर्ने सुझाव दिएको छ। यसो गर्दा अनुगमन सजिलो हुने र खर्च लुकाउने सम्भावना कम हुने तर्क पार्टीको छ।
दातृको विवरण पनि पारदर्शी बनाउन माग
चुनावी खर्चमा संलग्न दाताहरूको विवरण पनि स्पष्ट र सार्वजनिक गर्न ‘अफिसियल फाइनान्स ट्रान्सपरेन्सी पोर्टल’ सञ्चालन गर्नुपर्नेमा पार्टीले जोड दिएको छ।
राज्य स्रोत–साधन दुरुपयोग रोक्न कडा प्रावधानको सुझाव
निर्वाचन अवधिमा सरकारी सवारी, भवन, कर्मचारी वा सार्वजनिक कार्यक्रमको दुरुपयोग भएमा तत्काल निलम्बन वा कारबाही गर्न सकिने कानुनी व्यवस्था गर्नुपर्ने सुझाव पनि समावेश छ।
पार्टीले बजेट खर्चमा रोक लगाइने समयावधि स्पष्ट रूपमा परिभाषित गर्नुपर्ने, प्रदेश र स्थानीय तहका प्रमुख तथा उपप्रमुखले पनि समान आचारसंहिता पालन गर्नुपर्ने सुनिश्चितता गर्नुपर्ने लगायतका सुझावहरू आयोगसमक्ष राखेको छ।

