चितवन,०७ मंसिर । नेपाल लेयर्स कुखुरापालक संघले अण्डाको मूल्यमा उल्लेखनीय वृद्धि गरेको छ। किसानको फार्म मूल्यलाई आधार बनाएर जारी गरिने समर्थन मूल्यसूचीमा आजदेखि नयाँ दर लागू भएको छ।
नयाँ मूल्यअनुसार अति ठूलो (एक्सएल) अण्डा प्रतिक्रेट (३० वटा) ५२० रुपैयाँ, ठूलो अण्डा ५०५ रुपैयाँ र मिडियम ४९० रुपैयाँ कायम गरिएको संघले जनाएको छ।
संघका अध्यक्ष विनोद पोखरेलका अनुसार यसअघिको मूल्यभन्दा प्रतिक्रेट ५५ रुपैयाँले मूल्य बढाइएको हो। भारतीय अण्डा अवैध रूपमा नेपाल पस्न रोकिएपछि नेपाली अण्डाले लागत मूल्य पाउन थालेको उनले बताए। भारतमा निर्वाचनका कारण सीमामा कडाइ हुनु र त्यहाँ अण्डाको माग बढेपछि अवैध भित्रिने अण्डा थामिएको संघले बताएको छ।
संघका सल्लाहकार त्रिलोचन कँडेलका अनुसार भारतमा प्रतिगोटा अण्डा ७.८० भारतीय रुपैयाँमा बिकिरहेको छ। भारतमै राम्रो मूल्य पाएका कारण नेपालतर्फ अवैध रूपमा अण्डा भित्र्याउने प्रयाससमेत नदेखिएको उनले बताए।
नेपालमा प्रतिगोटा अण्डाको लागत मूल्य १६ रुपैयाँ ५७ पैसा पर्ने संघले जनाएको छ। अहिलेको नयाँ दरमा किसानहरूले लागत मूल्य बराबरको आम्दानी पाउन थालेको संघको दाबी छ।
संघ अध्यक्ष पोखरेलले जाडो महिनामा अण्डाको खपत बढ्ने हुँदा अहिले माग उच्च रहेको बताए। तीन महिनाअघि ठूलो अण्डा प्रतिक्रेट ५३० रुपैयाँ पुगेको मूल्य केही समय चार सयमा ओरालो लागेको थियो। तर फेरि क्रमशः बढ्दै अहिले किसान लाभ हुने अवस्थामा पुगेको हो।
नेपालमा हाल दैनिक करिब ४० लाख अण्डा उत्पादन हुने अनुमान गरिन्छ।

