वीरगंज, ६ मंसिर । जेन–जी आन्दोलनपछि संघीय सत्ता गुमाएको नेकपा एमाले अहिले मधेस प्रदेश सरकारको शीर्ष नेतृत्व सम्हाल्ने क्षमता पनि गुमाउने दोबाटोमा उभिएको छ । मधेस प्रदेशमा सरकारको प्रमुख–उपप्रमुखसहित महत्वपूर्ण पदमा एमालेकै अधिकार रहेको थियो । पार्टीकै सिफारिसमा सुमित्रा सुवेदी भण्डारी प्रदेश प्रमुख बनेकी थिइन् र रामचन्द्र मण्डल पनि एमालेबाटै प्रदेशसभाको सभामुख चुनिएका थिए । तर पछिल्लो राजनीतिक उलटफेरपछि दुवै पद एमालेको हातबाट फुत्किएको छ ।
एमालेबाट मुख्यमन्त्री बनेका सरोजकुमार यादवको पद समेत अहिले सर्वोच्च अदालतमा विचाराधीन छ, जसले उनलाई लगभग अधिकारविहीन बनाइदिएको छ । प्रदेश सरकारका मुख्य पद एकपछि अर्को गर्दै जोगाउन नसकिएको स्थितिमा एमालेको शीर्ष नेतृत्वले मधेसबारे गम्भीर समीक्षा सुरु गरेको छ । सबैभन्दा पहिले प्रदेश प्रमुख भण्डारी पदच्युत भइन् । त्यसपछि सभामुख मण्डललाई आफ्नै पार्टीका मुख्यमन्त्री बनाउन असंवैधानिक कदम चालेको आरोपसहित सात दलीय गठबन्धन र ७६ जना सांसदले दुई तिहाइ बहुमतमा पदमुक्त गरे । गठबन्धनले सरोजकुमार यादवलाई असंवैधानिक ढङ्गले मुख्यमन्त्री नियुक्त गरिएको दाबी गर्दै सर्वोच्चमा मुद्दा दायर गरेको हो । अदालतले अन्तरिम आदेश जारी गर्दै यादवलाई नीतिगत तथा दीर्घकालीन निर्णय नगर्न निर्देशन दिइसकेको छ ।
मंसिर ९ गते मुद्दाको टुंगो लाग्ने सम्भावना रहेको र सात दलीय गठबन्धनका कानुन व्यवसायीहरूले यादवको पद जाने प्रायः निश्चित भएको विश्वास दिलाएको जनाउँदै जसपा नेपाल मधेस प्रदेशका प्रमुख सचेतक रामअशिष यादवले प्रतिक्रिया दिएका छन् । प्रदेशमा निरन्तर पद गुमाउन थालेपछि एमाले सचिवालय बैठकमा पनि मधेसको घटनाक्रमलाई लिएर गम्भीर बहस भएको श्रोत बताउँछ । प्रदेशमा बढी क्षति मधेस आन्दोलनका समयमा नभई अहिले भएको भन्दै एक नेताले बैठकमा चिन्ता व्यक्त गरेका थिए । पार्टीको पकड कमजोर बन्दै गएपछि मुख्यमन्त्री यादवलाई तत्काल राजीनामा गराउनुपर्ने प्रस्तावसमेत सचिवालयमा उठेको श्रोतको दाबी छ । उनका अनुसार निर्वाचन नजिकिँदै गर्दा मधेस जस्तो महत्वपूर्ण क्षेत्रमा यस्तो ठूलो क्षति हुनु पार्टीका लागि निकै गम्भीर विषय हो ।
एमाले सचिव योगेश भट्टराईले सामाजिक सञ्जालमार्फत मधेसमा कसरी, किन र क–कस्को कारणले पार्टीलाई धक्का पुग्यो भन्ने प्रश्न उठाएका छन् । उनले प्रदेश प्रमुख बर्खास्ती, सभामुख पदमुक्ति तथा मुख्यमन्त्री अदालतमा परेको अवस्थालाई पार्टीको सार्वजनिक छविमाथिको गम्भीर चोटका रूपमा व्याख्या गर्दै पार्टीभित्र अन्तरविरोध तीव्र बन्दै गएको टिप्पणी गरेका छन् । भट्टराईका अनुसार मधेसमा अध्यक्ष केपी शर्मा ओलीले गरेका प्रयासमाथि नै खेलबाड गरिएको छ, जसको गम्भीर समीक्षा अपरिहार्य छ । उनले पार्टीको जनधार विस्तार, आन्तरिक एकता र सामाजिक छवि सुधार्न मधेसमा नयाँ नेतृत्वसहित अघि बढ्न आग्रह पनि गरेका छन् । मधेसमा नेतृत्व गर्ने केही नेताबाट गल्ती भएको स्वीकार्दै अब सुधार र नयाँ जिम्मेवारी आवश्यक भएको उनको भनाइ छ ।
स्रोतका अनुसार मधेस प्रदेशमा एकपछि अर्को पद गुमाउनुपर्ने अवस्थाको मूल कारण पार्टीका दुई शीर्ष नेता—लीलानाथ श्रेष्ठ र रघुवीर महासेठबीचको ब्रचश्व संघर्ष हो । उनीहरूको आपसी द्वन्द्वले मधेसमा पार्टीको संगठनात्मक अस्तित्व नै जोखिममा परेको बताइन्छ । एमाले निकट एक श्रोतका शब्दमा, ‘दुई नेताको राजनीतिक लडाइँले मधेसमा पार्टी कमजोर मात्र होइन, लगभग सखाप हुने अवस्थामा पुगेको छ ।’
यद्यपि घटनाक्रम एमालेविरुद्ध देखिँदै जाँदा पनि महासेठ भने अहिले सम्म मौन बसिरहेका छन् ।

