भद्रपुर,१० साउन । झापाको दमक–४ स्थित चियाबगान क्षेत्रमा आज बिहान भएको सवारी दुर्घटनामा एक साइकलयात्रीको ज्यान गएको छ।
पूर्वपश्चिम राजमार्गमा उर्लाबारीबाट दमकतर्फ गइरहेको प्रदेश नं १–०१–००१ ख ४३६३ नम्बरको यात्रुबाहक बसले दमकबाट ताराबारीतर्फ जाँदै गरेका साइकलयात्रीलाई ठक्कर दिँदा दुर्घटना भएको हो।
दुर्घटनामा परेका साइकलयात्री दमक–४ घरघरेका ६० वर्षीय सोमबहादुर विक रहेका छन्। उनी गम्भीर घाइते अवस्थामा दमक अस्पताल लगिएको भए पनि उपचारका क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए।
बसको ठक्करपछि बस र त्यसका चालक मकवानपुर हेटौँडा उपमहानगरपालिका–७ का ४७ वर्षीय राजेन्द्र गौतमलाई प्रहरीले नियन्त्रणमा लिएको छ। हाल घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

