28.4 C
Birgunj
Homeक्राईमउपत्यकामै गुड्छन् चोरिका कार, पूर्वप्रहरी नै गिरोहमा संलग्

उपत्यकामै गुड्छन् चोरिका कार, पूर्वप्रहरी नै गिरोहमा संलग्

प्रहरीलाई उक्त सूचना काभ्रे बनेपाबाट आएको थियो । ती व्यक्तिले सूचना मात्रै दिएनन् । प्रहरीलाई कालो रंगको क्रेटा कारको नम्बर समेत उपलब्ध गराए । त्यसपछि छानबिन गर्न कार्यालयले प्रहरी नायब उपरीक्षक (डीसएपी) को नेतृत्वमा टोली खटाइयो । कारको नम्बर ‘भेरिफाइ’ गर्न यातायात व्यवस्था कार्यालय पठाइयो ।

जहाँ हरेक सवारी साधनको नम्बर र धनीको विस्तृत विवरण राखिएको हुन्छ । तर, प्रहरी प्राप्त वाग्मती प्रदेश ०१–०२५च२७५९ नम्बर कालो क्रेटा कारको नम्बर नै कुनै पनि ढड्डामा दर्ता देखिएन । प्रहरीले कार चोरीको हुन सक्ने आशंका गर्दै कार खोजी तीव्र पार्‍यो । विभिन्न क्षेत्रमा जडान भएको सीसी–क्यामेराका फुटेज अध्ययन गर्‍यो । उक्त कार २९ मंसिरमा कालोमाटीमा देखापर्‍यो ।

उक्त कारमा काभ्रे तिमाल–८ का ४२ वर्षीय डीबी भन्ने दिलबहादुर घिसिङ सवार थिए । प्रहरीले उनलाई कारको कागजात माग्यो । डिबीले निसंकोच कारको कागजात प्रहरीलाई दिए ।

त्यसपछि प्रहरीले नक्कली कागजात र कारसहित उनलाई नियन्त्रणमा लियो । घिसिङ छाँगाबाट खसेझैँ भए । प्रहरीको नियन्त्रणमा पुगेपछि उनले कार भारतबाट मगाएको र कारको विलबुक नक्कली बनाएको स्वीकार गरे ।

घिसिङले त्यस्तो धन्दामा आफूमात्रै नभएको र अन्य साथीहरूसमेत भएको बयान प्रहरीलाई दिए ।

उनकै बयानका आधारमा प्रहरीले सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–१ का ३३ वर्षीय आइतसिंह तामाङलाई पनि पक्राउ गर्‍यो । उनीहरुको नक्कली कागजात बनाएर कार आफूले मात्रै चढेका थिएनन् कि बिक्रीसमेत गरेका थिए ।

करिब एक करोड पर्ने विभिन्न ब्रान्डका कारहरु १० देखि २० लाखमै बिक्री गरेको गर्ने समेत खुल्यो । उपत्यका अपराध अनुसन्धान कार्यालले घिसिङ र तामाङले १० लाख रुपैयाँ लिएर कार ‘डिक’ मा राख्ने गरेको खुलाएको छ ।

त्यसरी डिकमा राखेको पाँच वटा कार प्रहरीले नियन्त्रणमा लिएको छ । जसमा क्रेटादेखि सुजुकी र स्कारपियो समेत छन् ।

यसरी भित्र्याइन्छ भारतबाट चोरीका कार

प्रहरीको अनुसन्धानले भारतबाट कार चोरी गर्ने गिरोहसँग मिलेर नेपालको विभिन्न ठाउँसम्म कार पुग्ने गरेको दाबी गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी मिलन केसीका अनुसार, भारतीय चोरी गिरोहसँग मिलेर नेपाली गिरोहले अवैध रुपमा भन्सार पास गराउने र कार नेपाल भित्र्याउने गरेको पाइएको छ ।

उनका अनुसार, भारतमा चोरी गर्ने गिरोह ठूलो छ । त्यहीँ गिरोहसँग मिलेर कार नेपाल भित्र्याउने र सकेसम्म बिक्री गर्ने नसके ब्याजमा पैसा लिने भन्दै कार छाड्ने गरेको खुलेको छ ।

प्रहरीको अनुसन्धानले कतिपय कारहरु भारतबाट भन्सार पास गरेरै नेपाल ल्याउने र यतै बिक्री गर्ने गरेको खुलेको छ । प्रहरीले भारतमा बीमा भएका कार धनीकै मिलोमतोमा चोरी गर्ने समूहलाई सस्तोमा बिक्री गरी नेपाल पठाउने र उताबाट बीमावापतको रकम बुझ्ने गरेको समेत दाबी गरे ।

प्रहरीले पछिल्लो समय महँगा मोटरसाइल र कारहरु भारतबाट चोरेर नेपालमा बिक्री गर्ने गरेको खुलेको हो ।

कार चोरी गर्ने एक गिरोह नै ध्वस्त

उपत्यका प्रहरी कार्यालयले घिसिङ र तामाङसहित भारतबाट कार चोरी गर्ने र सूदुरपश्चिम प्रदेशको कञ्चनपुर र कैलालीको नाकाबाट कार काठमाडौं पठाउने गिरोह नै ध्वस्त पारेको दाबी गरेको छ ।

प्रहरी टोलीले सोमबार राती कार चोरी गरेर काठमाडौैं घिसिङ र तामाङलाई पठाउने गिरोहका थप दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा कैलालीका गोकुलप्रसाद श्रेष्ठ र भारत उत्तर प्रदेशका मुसरफ उल्लाखान छन् ।

जसमध्ये मुसरफ भारतबाट कार चोरी गरी सीमासम्म ल्याउने र त्यहाँबाट गोकुल श्रेष्ठले कार काठमाडौं हुँदै अन्यत्र सप्लाई गर्ने गरेको खुलेको हो ।

त्यसरी कार सप्लाई गर्ने गिरोहका सदस्यमा कञ्चनपुर झलारीका मोहनसिंह ऐरीसमेत छन् । उनलाई समेत कैलालीको अत्तरियाबाट नियन्त्रणमा लिइएको छ । प्रहरीको अनुसन्धानले उक्त गिरोहमा एक जना प्रहरीकै पूर्व हवल्दार समेत संलग्न रहेको खुलेको छ ।

कैलाली स्थायी घर भएका चौधरी थरका पूर्व हवाल्दार फरार छन् । प्रहरीले उनको समेत खोजी गरिरहेको छ । प्रहरीले नियन्त्रणमा लिएकामध्ये ऐरी यसअघि जघन्य ६ वटा मुद्दामा जेल परेर छुटेका अभियुक्त भएको खुलेको छ ।

उनी ज्यान मार्ने उद्योग, अपहरण तथा शरीर बन्दक, चोरी, डकैती मुद्दामा जेल परेको देखिएको छ । उनीहरुकै मिलोमतोमा भारतबाट चोरीका दर्जनौ कार नेपाल भित्रिएको खुलेको प्रहरीले बताएको छ ।

उपत्यका प्रहरीले बरामद गरेको पाँच वटा कारबाहेक एक महिना अघिमात्रै काठमाडौं प्रहरीले समेत ६ वटा चोरीका कार बरामद गरेको थियो । चोरी गर्ने गिरोहले कार किन्ने व्यक्तिलाई चाहेको जस्तै कार चोरी गरी सस्तो मूल्यामा नक्कली कागजात बनाएर उपलब्ध गराउने गरेको खुलेको हो ।

तीन वर्षमा ५६ चोरीका कार नियन्त्रण

प्रहरीका दुई वटा कार्यालयले मात्रै तीन आर्थिक वर्षमा ५६ वटा चोरीका कार नियन्त्रणमा लिएको छ । उपत्यका अपराध अनुसन्धान कार्यालय र उपत्यका ट्राफिक प्रहरीले उपत्यकाबाट मात्रै सो सख्याको चोरीका कार निन्त्रणमा लिएको हो ।

उपत्यका अपराध अनुसन्धान कार्यालयले आर्थिक वर्ष २०७८–०७९ मा ४ वटा चोरीको कार नियन्त्रणमा लिएको थियो । त्यस्तै आर्थिक वर्ष २०७९–०८० मा १६ वटा कार र २०८०–०८१ मा १८ वटा कार नियन्त्रणमा लिएको कार्यालयका एसपी केसीले जानकारी दिए ।

त्यस्तै, ट्राफिक प्रहरी कार्यालयले तीन आर्थिक वर्षमा १८ वटा चोरीका कार नियन्त्रणमा लिएको छ । यसबाहेक जिल्ला प्रहरी कार्यालय काठमाडौंले समेत चोरीको कार नियन्त्रणमा लिएको छ । सभार १२खरी बाट लिएको

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here