29.6 C
Birgunj
Date
सोम, बैशाख १४, २०८३
Mon, April 27, 2026
spot_img

पर्सा–२ मा टेमानीको सक्रिय प्रचारप्रसार: विकास र विश्वासको प्रत्याभूति

वीरगंज (पर्सा), ९ फागुन । पर्सा निर्वाचन क्षेत्र नम्बर २ मा जनता समाजवादी पार्टी (जसपा) बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार अशोक टेमानीको चुनावी प्रचारप्रसार अभियान तीब्र रुपमा सशक्त हुँदै गएको छ । निर्वाचन प्रचारप्रसार सुरु भएदेखि नै घरदैलो, कार्यकर्ता भेला, युवा भेला र रात्रीसभा कार्यक्रमहरूको माध्यमबाट टेमानीले मतदातासँग प्रत्यक्ष संवाद गर्दै आफ्नो योजनाहरू प्रस्तुत गरिरहेका छन् ।

पर्सा–२ का स्थानीय मतदातामाझ जसपाप्रति आकर्षण दिनप्रतिदिन बढ्दै गएको देखिएको छ । विगतमा पटक पटक विभिन्न राजनीतिक दलका नेताहरूले मतदातालाई ठगी मात्र गरेकाले यसपालिको निर्वाचनमा जनताले सक्षम र विश्वसनीय विकल्पको खोजी गरिरहेका छन् । टेमानी यसै अवसरमा आफ्नो छवि र विश्वासिलो नेतृत्वको कारण मतदाताको पहिलो रोजाईमा उभिन सफल भएका छन् । शनिबार वीरगंज महानगरपालिका वडा नम्बर २५ सिर्सिया टोलमा आयोजित जसपाको कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रममा यस प्रवृत्तिको स्पष्ट प्रमाण देखिएको छ । कार्यक्रममा विभिन्न पार्टी छाडेर २५० भन्दा बढी नेता, कार्यकर्ता र स्थानीय युवा जसपामा प्रवेश गरेका थिए । पार्टी प्रवेश गरेका नयाँ सदस्यहरूमा अनुभवी, शिक्षित र समाजसेवी व्यक्तिहरूको प्रमुख सहभागिता रहेको बताइएको छ । कार्यक्रममा सहभागी युवाहरूले टेमानीको सक्रियता, प्रगतिशील सोच र क्षेत्रीय विकासप्रतिको प्रतिबद्धता उच्च मूल्यांकन गरेका थिए । स्थानीय मतदाताहरूले यसपालि ठगी गर्ने र केवल चुनावी वाचा गर्ने नेताहरूलाई छोडेर सक्षम उम्मेदवारलाई साथ दिने प्रतिवद्धता व्यक्त गरेका छन् ।

टेमानीले उपस्थित जनसमुदायलाई सम्बोधन गर्दै गाउँ ठाउँमा रोजगारी, शिक्षा, स्वास्थ्य र पूर्वाधारमा सुधार ल्याउने स्पष्ट योजना प्रस्तुत गरेका छन् । उनले मतदातालाई विश्वास दिलाउँदै भने, ‘म निर्वाचित भएपछिको कार्यकालमा क्षेत्रका वास्तविक समस्यालाई प्राथमिकताका साथ सम्बोधन गर्नेछु र जनता माझको भरोसा कायम राख्नेछु ।’
जसपामा प्रवेश गरेका नेताहरूले पनि टेमानीको नेतृत्व र पार्टीको उद्देश्यप्रति आफ्नो पूर्ण समर्थन व्यक्त गरेका छन् । युवा, महिला र अनुभवी सदस्यहरूको सहभागिताले पार्टीको शक्ति र संगठनात्मक क्षमता अझ सुदृढ भएको देखिन्छ ।
पर्सा–२ मा जसपामा बढ्दो आकर्षणको कारणले मतदातामा विकल्पको विकल्पको रूपमा टेमानीको छवि बलियो बन्दै गएको छ । घरदैलो र कार्यकर्ता भेलामा देखिएको उत्साहले स्पष्ट गरेको छ कि चुनावी रणनीति प्रभावकारी रहेको छ । यससँगै पार्टी प्रवेश र मतदातामाझ प्रत्यक्ष संवादको क्रम जारी रहँदा टेमानीको प्रचारप्रसार अझ सशक्त र व्यापक हुँदै गएको विश्लेषकहरूले बताएका छन् ।

उक्त कार्यक्रमले केवल उम्मेदवारको लोकप्रियता बढाएको मात्र छैन, क्षेत्रीय विकास, जनतासँगको प्रत्यक्ष संवाद र संगठन सुदृढीकरणमा पनि महत्वपूर्ण योगदान दिएको छ । आगामी निर्वाचनमा टेमानी र जसपाप्रति मतदाताको झुकाव बढ्दै गएपछि यस क्षेत्रको राजनीतिक परिदृश्यमा महत्वपूर्ण परिवर्तन आउन सक्ने संभावना देखिएको छ ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here