25 C
Birgunj
Date
बुध, बैशाख ९, २०८३
Wed, April 22, 2026
spot_img

वडा २७ मा जसपाको भव्य रात्रीसभा :सयौँ युवाले लिए पार्टी प्रवेश

वीरगंज (पर्सा), ६ फागुन । वीरगंज महानगरपालिका वडा नं. २७ मा आयोजित जनता समाजवादी पार्टी (जसपा) को रात्रीसभा तथा पार्टी प्रवेश कार्यक्रम उत्साहपूर्ण सहभागितासहित सम्पन्न भएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै पर्सा निर्वाचन क्षेत्र नं. २ का जसपा उम्मेदवार अशोक टेमानीको समर्थनमा आयोजित उक्त कार्यक्रममा सयौँ युवाहरू विभिन्न राजनीतिक दल परित्याग गरी जसपामा प्रवेश गरेका छन् ।

रातिको समयमा आयोजना गरिएको कार्यक्रम नाराबाजी, गीत–संगीत र राजनीतिक सम्बोधनले भरिएको थियो । सहभागी युवाहरूले ‘अब परिवर्तन चाहिन्छ’ भन्दै क्षेत्रको विकासका लागि नयाँ नेतृत्व आवश्यक रहेको धारणा व्यक्त गरेका थिए । नवप्रवेशीहरूलाई उम्मेदवार टेमानीसहित जसपाका नेता एवं पूर्वमन्त्री रमेश कुर्मी र नेतृ करिमा बेगमलगायतका नेताहरूले अविर–टिका लगाई औपचारिक रूपमा पार्टीमा स्वागत गरेका थिए । स्वागतपछि बोल्दै नेताहरूले युवाशक्तिको साथ र विश्वासले क्षेत्रको राजनीतिक समीकरण परिवर्तन गर्ने दाबी गरे । कार्यक्रममा बोल्दै नवप्रवेशी युवाहरूले पर्सा–२ को विकासका लागि टेमानी नै उपयुक्त विकल्प भएको जिकिर गरे । विगतका चुनावमा विभिन्न दल र नेताहरूले आश्वासन मात्रै बाँडेको तर अपेक्षित काम नगरेको आरोप उनीहरूले लगाए । पटक पटकको निराशाजनक अनुभवपछि अब व्यवहारमा परिणाम देखाउने नेतृत्व आवश्यक भएको उनीहरूको भनाइ थियो ।

युवाहरूले टेमानी शिक्षित, अनुभवी र सफल उद्योगी भएकाले विकासको स्पष्ट दृष्टिकोण राख्न सक्ने नेता भएको दाबी गरे । ‘हामीलाई भाषण होइन, काम चाहिएको छ,’ एक नवप्रवेशीले भने, ‘समस्या सुन्ने, बुझ्ने र समाधान खोज्न सक्ने क्षमता टेमानीमा देख्यौं, त्यसैले जसपामा प्रवेश गरेका हौं ।’ टेमानीले पनि युवाहरूको विश्वासप्रति आभार व्यक्त गर्दै क्षेत्रको समग्र विकासलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाए । रोजगारी सिर्जना, शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार, पूर्वाधार विस्तार तथा उद्योग व्यवसाय प्रवद्र्धनमार्फत आर्थिक सशक्तीकरण आफ्नो मुख्य एजेन्डा रहेको उनले बताए । उनले भने, ‘पर्सा–२ लाई समृद्ध बनाउने स्पष्ट योजना लिएर मैदानमा उत्रिएको छु । तपाईंहरूको साथले परिवर्तन सम्भव छ ।’
पूर्वमन्त्री रमेश कुर्मीले जसपा मधेश र उत्पीडित समुदायको अधिकारका लागि निरन्तर संघर्षरत पार्टी भएको उल्लेख गर्दै अब विकास र सुशासनको अभियानलाई अगाडि बढाउने समय आएको बताए ।

नेतृ करिमा बेगमले महिलाहरू र युवाहरूको सहभागिता बढ्दै जानु सकारात्मक संकेत भएको धारणा राखिन् ।
निर्वाचन मिति नजिकिँदै जाँदा पर्सा–२ मा राजनीतिक गतिविधि तीव्र बन्दै गएको छ । विभिन्न दलहरू घरदैलो, सभासम्मेलन र संगठन विस्तारमा सक्रिय छन् । तर वडा नं. २७ मा भएको यस रात्रीसभाले जसपाको संगठनात्मक आधार सुदृढ हुँदै गएको सन्देश दिएको राजनीतिक विश्लेषकहरू बताउँछन् ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here