वीरगंज,०१ फागुन । पर्सा निर्वाचन क्षेत्र नं. २ अन्तर्गत नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार मनोज चौधरी ले बहुरमाई नगरपालिका वडा नं. ४ अन्तर्गत डोकैला र बहुअरीमा घरदैलो एवं ‘जनता दर्शन’ कार्यक्रम सम्पन्न गरेका छन्।
घरदैलोका क्रममा चौधरीले गाउँ–वस्तीमा पुगेर मतदातासँग प्रत्यक्ष संवाद गरेका थिए। उनले स्थानीय समस्याहरू पहिचान गरी निर्वाचित भएलगत्तै तिनीहरूको समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे। डोकैलामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले भने, “जनताको समर्थन र सहयोगले मलाई उत्साहित बनाएको छ। जनताको आवाजलाई सदनसम्म पुर्याउने मेरो लक्ष्य हो।”
कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य नगेन्द्र चौधरी, रामचन्द्र साह, किशोरी कुश्वाहा, बृजलाल पासवान, साथै स्थानीय नेता विपिन यादव, बिरेन्द्र यादव, सोम लामा, रामेश्वर मण्डल, दीपेन्द्र सिंह पटेल लगायत स्थानीय बासिन्दाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
घरदैलो कार्यक्रमका दौरान नेताहरूले नेकपाको समाजवादी आन्दोलन र अभियानको महत्वबारे चर्चा गर्दै डोकैला र बहुअरीवासीको साथ पाउनेमा आशावादी रहेको बताए। कार्यक्रममा विकास, रोजगारी, स्वास्थ्य, शिक्षा र आधारभूत सेवासम्बन्धी विषयमा मतदातासँग व्यापक छलफल गरिएको थियो।

