38.8 C
Birgunj
Date
सोम, बैशाख १४, २०८३
Mon, April 27, 2026
spot_img

वीरगञ्ज खानेपानी संकट २४ घण्टामै समाधान गरेको दाबी गर्दै प्रदीप यादवले दोहोर्‍याए जनताको बिचमै रहने प्रतिबद्धता

वीरगञ्ज, २८ माघ । नेकपा (एमाले) बाट पर्सा निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार प्रदीप यादवले आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै घरदैलो तथा जनता दर्शन कार्यक्रमलाई तीव्रता दिएका छन् ।
पूर्व खानेपानी मन्त्रीसमेत रहेका यादवले बुधवार वीरगञ्ज महानगरपालिका–१४ का विभिन्न टोलमा पुगेर मतदातासँग प्रत्यक्ष संवाद गरेका हुन् । घरदैलोका क्रममा उनले यसअघि दुई पटक पर्सा–१ बाट निर्वाचित भएपछि क्षेत्रको विकासका लागि आफूले गरेका कामबारे जानकारी गराएका थिए ।

विशेषगरी गत वर्ष देखिएको खानेपानी सङ्कट समाधानमा आफूले खेलेको भूमिकाबारे स्मरण गर्दै यादवले समस्या उत्पन्न भएको २४ घण्टाभित्रै आवश्यक निर्देशन दिएको दाबी गरे । “पानीको समस्या निम्तिएको बेला सौभाग्यवश म खानेपानी मन्त्री थिएँ । समस्या देखिएको २४ घण्टाभित्रै प्रत्येक टोल–टोलमा डीप बोरिङ जडान गर्ने निर्देशन दिएपछि आज वीरगञ्जको खानेपानी समस्या अन्त्य भएको छ,” उनले भने ।

यादवले निर्वाचनपछि पनि जनताकै बिचमा रहेर काम गर्ने प्रतिबद्धता दोहोर्‍याउँदै मतदातालाई सुझबुझपूर्ण निर्णय लिन आग्रह गरे । “म सधैँ तपाईँहरूको बिचमा छु । सांसद बने पनि, मन्त्री बने पनि तपाईँहरूको घरदैलोमा आएर सुख–दुःखको सारथि बनेको छु,” उनले भने, “अन्य केही उम्मेदवारहरू भने चुनावमा मात्र देखिने पात्र हुन् ।”

उनले अन्य दलका उम्मेदवारहरू मत माग्न आए उनीहरूसँग काम र उपस्थितिका विषयमा प्रश्न गर्न समेत मतदातालाई आग्रह गरे ।

घरदैलो कार्यक्रममा वीरगञ्ज–१४ का वडाध्यक्ष महबुब एलाही अन्सारी, पूर्व वडाध्यक्ष भरत प्रसाद कुर्मी लगायत नेकपा (एमाले) का नेता तथा कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here