वीरगंज,१९ माघ । जनता समाजवादी पार्टी (जसपा) बाट पर्सा क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार अशोक टेमानीले चुनावी अभियानलाई घरदैलो कार्यक्रममार्फत थप सशक्त बनाएका छन् । औपचारिक सभा–समारोहभन्दा पनि जनतासँग प्रत्यक्ष भेटघाटलाई प्राथमिकता दिँदै टेमानी पछिल्ला दिनहरूमा गाउँ–गाउँ, टोल–टोल पुगेर स्थानीय बासिन्दासँग संवाद गरिरहेका छन् । यही क्रममा उनले पर्सागढी नगरपालिका वडा नं. २ अन्तर्गत पर्ने ७ वटा गाउँटोलको भ्रमण गर्दै नागरिकका दैनिक जीवनसँग जोडिएका समस्या, अपेक्षा र सुझाव नजिकबाट सुनेका छन् ।
घरको आँगनमै पुगेर उम्मेदवारलाई भेट्दा स्थानीयवासी उत्साहित देखिन्थे । कतै सडक र नाली व्यवस्थापनको समस्या उठ्यो, कतै खानेपानीको अभाव, त कतै स्वास्थ्य सेवा र शिक्षाको गुणस्तरप्रति गुनासो सुनियो । किसानहरूले सिँचाइ, मल–बिउको उपलब्धता र उत्पादनको उचित मूल्य नपाएको पीडा सुनाए । युवाहरूले रोजगारीको अवसर अभावले वैदेशिक रोजगारी रोज्नुपरेको बाध्यता व्यक्त गरे भने महिलाहरूले स्वास्थ्य चौकी, सुरक्षित मातृत्व सेवा र आयआर्जनका अवसरबारे आफ्नो आवाज उठाए ।
उम्मेदवार टेमानीले प्रत्येक घरमा पुगेर धैर्यपूर्वक जनताका कुरा सुन्दै टिपोट गर्ने शैली अपनाएका थिए । उनले स्थानीयले उठाएका विषयहरूलाई चुनावी मुद्दामात्र नभई आफ्नो दायित्वका रूपमा लिएको बताउँदै समस्याको दीर्घकालीन समाधानका लागि नीति निर्माणदेखि कार्यान्वयनसम्म सक्रिय भूमिका खेल्ने प्रतिबद्धता जनाएका थिए । ‘जनताको समस्या बुझ्न कागजको रिपोर्ट होइन, घरको दैलोमा पुग्नुपर्छ,’ उनले भने, ‘यही विश्वासका आधारमा म तपाईंहरूसामु आएको हुँ ।’
टेमानीको घरदैलो कार्यक्रम औपचारिक भाषणभन्दा बढी संवादमुखी देखिन्थ्यो । वृद्धवृद्धासँग स्वास्थ्य सुविधा र सामाजिक सुरक्षाबारे कुराकानी, किसानसँग खेतमै उभिएर सिँचाइ र बजार व्यवस्थाबारे छलफल, तथा युवासँग रोजगारी र सीप विकासका कार्यक्रमबारे सुझाव आदान–प्रदानले कार्यक्रमलाई अर्थपूर्ण बनाएको स्थानीयवासी बताउँछन् । ‘उम्मेदवार पहिलोपटक हाम्रो घरमै आएर समस्या सुन्नुभयो, हामीले आशा गरेका छौँ,’ एक स्थानीय बासिन्दाले भने ।
पर्सागढी–२ का विभिन्न टोलमा आधारभूत पूर्वाधारको कमी स्पष्ट देखिन्छ । कतिपय बस्तीमा वर्षायाममा हिलो र हिउँदमा धुलोले जनजीवन कष्टकर हुने गरेको गुनासो छ । कृषिको लागि सिचाईको उचित व्यवस्था नभएको स्थानीयहरुले दुःखेसो पोखेका थिए । उनीहरुले खेत हुँदाहुँदै समयमा उचित सिचाईको व्यवस्था नहुँदा वर्षेनी बाली उत्पादनमा समस्या हुने गरेको उनीहरुको गुनासो थियो । यस्तै, स्वास्थ्य चौकीमा औषधि अभाव र दक्ष जनशक्ति कमीका कारण सामान्य बिरामीले पनि टाढा धाउनुपर्ने अवस्था रहेको जनगुनासो सुनिएको थियो ।
यस्ता समस्याहरूलाई नजिकबाट अवलोकन गरेपछि टेमानीले स्थानीय तह, प्रदेश र संघीय सरकारबीच समन्वय गरी योजनाबद्ध ढंगले काम गर्नुपर्ने आवश्यकता औँल्याएका थिए । उनले पर्सा क्षेत्र नं. २ को समग्र विकासका लागि सडक सञ्जाल विस्तार, सिचाईको उचित व्यवस्था, गुणस्तरीय स्वास्थ्य सेवा, शिक्षामा सुधार, कृषि आधुनिकीकरण र युवामुखी रोजगारी कार्यक्रमलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता दोहोर्याएका थिए ।
घरदैलो कार्यक्रमका क्रममा टेमानीले जसपाको नारा ‘अधिकार, समानता र समृद्धि’ लाई व्यवहारमा उतार्ने लक्ष्य व्यक्त गरे । उनले संविधानले दिएको अधिकारको प्रभावकारी कार्यान्वयन, सीमान्तकृत समुदायको पहुँच वृद्धि र समावेशी विकासलाई आफ्नो प्रमुख एजेण्डा बनाएको बताए । ‘राजनीति भनेको जनताको जीवनमा प्रत्यक्ष परिवर्तन ल्याउने माध्यम हो,’ उनले भने, ‘त्यसैले तपाईंहरूको विश्वासलाई परिणाममा बदल्नु मेरो पहिलो दायित्व हुनेछ ।’
स्थानीय युवाहरूको उत्साह पनि घरदैलो कार्यक्रममा उल्लेखनीय थियो । उनीहरूले सामाजिक सञ्जालमार्फत कार्यक्रमका तस्बिर र सन्देश साझा गर्दै अभियानलाई व्यापक बनाएका छन् । महिलाहरू, किसान, मजदुर र व्यवसायीहरूसँगको निरन्तर संवादले टेमानीको अभियानलाई जनआधारित बनाएको देखिन्छ । गाउँघरको समस्या बुझ्न गाउँमै उम्मेदवार टेमानी पुगेपछि उनीप्रति मतदाताहरु झुकाव बढ्दै गएको छ ।
पर्सागढी नगरपालिका वडा नं. २ का ७ वटै गाउँटोलमा सम्पन्न घरदैलो कार्यक्रमले उम्मेदवार र मतदाताबीच प्रत्यक्ष सम्बन्ध स्थापित गरेको स्थानीयको भनाइ छ । चुनावी प्रतिस्पर्धा त छँदैछ, तर टेमानीको घरदैलो शैलीले जनताको मन जित्न सफल भएको स्थानीयहरुले प्रतिक्रिया दिएका छन् । ‘हामीले बोल्ने ठाउँ पायौँ, अब समाधानको आशा गरेका छौँ,’ एक मतदाताले प्रतिक्रिया दिए । विगतमा धेरैलाई देखियो, भोटको बेला एक पटकको लागि मौका दिनुस् भनेर आउँछ, जितेपछि वेपत्ता हुन्छ तर अब यो समस्याको अन्त्य पनि हुन्छ भन्ने मतदाताहरुले विश्वास व्यक्त गरे ।

