वीरगंज,१८ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट पर्सा निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार सुशील कुमार कानुले वीरगञ्ज महानगरपालिका–२८ बहीमा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन् ।
घरदैलो कार्यक्रमका क्रममा उम्मेदवार कानुले स्थानीयहरूसँग प्रत्यक्ष भेटघाट तथा संवाद गर्दै उनीहरूको समस्या, आवश्यकता, अपेक्षा र विकासप्रतिको चाहनाबारे जानकारी लिएका छन् । उनले जनताका आवाजलाई नीतिगत रूपमा सम्बोधन गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।
स्थानीयहरूले सडक, खानेपानी, रोजगारी, शिक्षा, स्वास्थ्य सेवा तथा सुशासनका विषयमा आफ्ना गुनासा र सुझावहरू राखेका थिए । सो अवसरमा उम्मेदवार कानुले निर्वाचित भएपछि ती समस्याहरूलाई संसद्मा प्रभावकारी रूपमा उठाउने र समाधानका लागि निरन्तर पहल गर्ने प्रतिबद्धता जनाए ।
कार्यक्रममा उम्मेदवार कानुले स्वच्छ राजनीति, जबाफदेही नेतृत्व र पारदर्शी शासन प्रणालीमार्फत पर्साको समग्र विकास सम्भव हुने उल्लेख गर्दै जनतासँगै अघि बढ्ने आफ्नो सङ्कल्प दोहोर्याए । “जनताको विश्वास नै मेरो सबैभन्दा ठूलो बल हो,” उनले भने, “जनताको चाहनाअनुसार काम गर्ने प्रतिनिधि बन्ने मेरो लक्ष्य हो।”
घरदैलो कार्यक्रममा रास्वपाका स्थानीय नेता–कार्यकर्ता, समर्थक तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो । आगामी निर्वाचनलाई लक्षित गर्दै उम्मेदवार कानुले क्षेत्रका विभिन्न वडाहरूमा घरदैलो तथा जनसम्पर्क कार्यक्रमलाई निरन्तरता दिने जनाइएको छ ।

