25.2 C
Birgunj
Date
मङ्ल, बैशाख १५, २०८३
Tue, April 28, 2026
spot_img

संविधान र लोकतन्त्रको पक्षमा अडिग : जेल जान पनि पछि नपर्ने रुङ्गटा

वीरगन्ज-
नेपाली काँग्रेस पर्सा निर्वाचन क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार अनिल कुमार रुङ्गटाले आज वीरगन्ज महानगरपालिका वडा नं. ८ का मतदातासँग चिया–चर्चा कार्यक्रम गर्नुभएको छ।

नेपाली काँग्रेस वडा नं. ८ का बुथ सभापति छोटेलाल कहारको अध्यक्षतामा आयोजित कार्यक्रममा आसन्न प्रतिनिधि सभा निर्वाचनका विषयमा मतदातासँग दोहोरो छलफल भएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार रुङ्गटाले लोकतन्त्रको संरक्षणका लागि आवश्यक परे आफू जेल जान पनि तयार रहेको उद्घोष गर्नुभयो। औद्योगिक घरानाबाट आएको व्यक्ति भए पनि लोकतन्त्र माथि आँच आए एक क्षण पनि नसोची आन्दोलनमा होमिने र आवश्यक परे जेलनेल सहन तयार रहेको उहाँले स्पष्ट पार्नुभयो।

कार्यक्रममा सहभागी वडा नं. ८ का स्थानीय बासिन्दाले बढ्दो भ्रष्टाचार, महँगी, बेरोजगारी तथा पूर्वाधार विकासमा देखिएका समस्याबारे जिज्ञासा राखेका थिए। ती प्रश्नहरूको जवाफ दिँदै उम्मेदवार रुङ्गटाले कुशल नेतृत्व र उद्योगमैत्री नीतिको अभावका कारण देशभित्र उद्योग–व्यापार फस्टाउन नसकेको र त्यसकै परिणामस्वरूप बेरोजगारी बढेको बताउनुभयो।

उहाँले नेपाली काँग्रेसका पार्टी सभापति गगन थापाको नेतृत्वमा सरकार गठन भएपछि उद्योग–व्यापारमैत्री कानुन निर्माण हुने र बेरोजगारी समस्या क्रमशः समाधान हुँदै जाने विश्वास व्यक्त गर्नुभयो। काँग्रेसकै नेतृत्वमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको स्मरण गराउँदै अब मुलुकमा विकास र समृद्धि ल्याउने जिम्मेवारी पनि काँग्रेसले नै पूरा गर्ने दाबी गर्नुभयो। त्यसका लागि काँग्रेसका उम्मेदवारलाई मतदान गर्न उहाँले आम मतदातासँग अपिल गर्नुभयो।

कार्यक्रममा नेपाली काँग्रेस पर्साका पूर्व जिल्ला सभापति एवं संविधान सभा सदस्य अजय कुमार द्विवेदीले काँग्रेसका उम्मेदवार रुङ्गटा स्वच्छ छवि भएका, इमान्दार र जनताप्रति उत्तरदायी व्यक्ति भएकाले उहाँलाई मतदान गर्न आग्रह गर्नुभयो। उहाँले रुङ्गटा अन्य पार्टीका उम्मेदवारजस्तो चुनावपछि पार्टी फेर्ने व्यक्ति नभई कर्मठ र प्रतिबद्ध नेता रहेको उल्लेख गर्नुभयो।

काँग्रेस नै मुलुकका विद्यमान समस्याको समाधान गर्न सक्षम पार्टी भएको बताउँदै, हाल देखिएका समस्याको समाधानका लागि काँग्रेसका उम्मेदवारलाई मतदान गरी विकास र समृद्धिको मार्ग प्रशस्त गर्न उहाँले आम मतदातासँग आग्रह गर्नुभयो।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here