वीरगंज (पर्सा), ७ माघ । आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा पर्सा निर्वाचन क्षेत्र नं.–१ मा नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार अजय चौरसिया राष्ट्रिय तहमा चासोका साथ हेरिएका नाममध्ये एक बनेका छन् । उनी परम्परागत राजनीतिक भाषाशैलीभन्दा फरक, तथ्य, नीति र उत्तरदायित्वको आधारमा जनविश्वास आर्जन गर्न खोजिरहेका उम्मेदवारका रूपमा चिनिन थालेका छन् ।
चार्टर्ड एकाउन्टेन्ट, आर्थिक सुधारक र सार्वजनिक शिक्षाकर्मीको परिचय बोकेका चौरसिया सत्ता प्राप्तिका लागि होइन, राज्य प्रणालीलाई जनपक्षीय, न्यायोचित र अनुशासित बनाउने उद्देश्यसहित राजनीतिमा प्रवेश गरेको बताउँछन् । ‘राजनीति लोकप्रिय नाराको होइन, जिम्मेवार निर्णयको क्षेत्र हो,’ भन्ने उनको दृष्टिकोण उनी अहिलेसम्मका गतिविधिमा प्रस्ट देखिन्छ ।
जीवन पृष्ठभूमि र सामाजिक यथार्थ
वि.सं. २०४९ वैशाख १६ गते जन्मिएका अजय चौरसिया पर्सा जिल्ला, वीरगंज–१६ का स्थायी बासिन्दा हुन् । मधेशको सामाजिक–आर्थिक यथार्थ, सीमावर्ती व्यापारका जटिलता, साना तथा मझौला उद्यमीको समस्या, बैंकिङ प्रणालीको दबाब र श्रमिक तथा युवाका चुनौती उनी स्वयंले नजिकबाट भोगेका छन् ।
उनको राजनीतिक यात्रा सुविधाभन्दा मेहनत, सिफारिसभन्दा क्षमता र अवसरवादभन्दा सेवाभावमा आधारित रहेको उनको दाबी छ ।
शिक्षा र व्यावसायिक अनुभव
चौरसिया इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ इन्डिया (आई.सि.ए.आई) र इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ नेपाल (आई.सि.ए.एन.) बाट प्रमाणित चार्टर्ड एकाउन्टेन्ट हुन् । साथै उनले वाणिज्यशास्त्रमा स्नातक उपाधि हासिल गरेका छन् । पूर्व बैंकरको रूपमा काम गरिसकेका उनले नेपालको वित्तीय प्रणाली, ऋण प्रवाह, बैंकिङ संरचना र त्यसका कमजोरीहरू व्यवहारिक रूपमा बुझेका छन् ।
दश वर्षभन्दा बढीको व्यावसायिक अनुभवका क्रममा उनले लेखापरीक्षण, कर प्रणाली, वित्तीय परामर्श र कर्पोरेट सुशासनका क्षेत्रमा काम गरेका छन् । हाल उनी ‘अजय चौरसिया एण्ड एशोसिएट्स) का प्रमुखका रूपमा देशभरका व्यवसाय र संस्थालाई परामर्श सेवा दिँदै आएका छन् ।
संघर्ष र जनहितका मुद्दा
अजय चौरसिया केवल भाषणमा सीमित नेता होइनन् । वि.सं. २०७८ देखि हालसम्म उनले बैंकहरूको अनैतिक नाफामुखी अभ्यास, अत्यधिक ब्याजदर र जबर्जस्ती शुल्कविरुद्ध निरन्तर सडक संघर्ष र अभियान सञ्चालन गर्दै आएका छन् ।
यस अभियानका क्रममा धेरै पीडितले राहत पाएको, बैंकहरू अतिरिक्त असुली फिर्ता गर्न बाध्य भएको र ऋणीमैत्री कानुनी सुधार सम्भव भएको उनको पक्षको दाबी छ ।
बैंकिङ क्षेत्रको आलोचना गरेकै कारण उनले एन.आई.सि. एशिया बैंकबाट साइबर अपराधसम्बन्धी मुद्दा खेप्नुपरे पनि संघर्षबाट पछि हटेनन् । त्यसैगरी, मिटर ब्याज पीडितको पक्षमा उभिएकै कारण बारा जिल्लाका तत्कालीन प्रमुख जिल्ला अधिकारीविरुद्ध दायर मुद्दामा परमादेश जारी भइसकेको छ ।
उनले बैंक तथा वित्तीय संस्थाबाट पीडित नागरिकलाई निःशुल्क कानुनी र वित्तीय परामर्श दिँदै आएका छन् । घरेलु हिंसा र प्रशासनिक दमनका घटनामा पनि न्यायको पक्षमा उभिएको उनको गतिविधि स्थानीय स्तरमा चर्चित छ ।
सार्वजनिक शिक्षा र चेतना
चौरसियाले १५० भन्दा बढी युवा तथा स्नातकहरूलाई कर, लेखा र वित्तीय व्यवस्थापनसम्बन्धी तालिम दिइसकेका छन् । तीमध्ये धेरै अहिले रोजगारीमा आबद्ध वा आत्मनिर्भर बनेका छन् । वित्तीय साक्षरता, कर सचेतना र नागरिक अधिकारका विषयमा उनले सेमिनार, वेबिनार र सार्वजनिक संवादमार्फत निरन्तर भूमिका खेल्दै आएका छन् ।
‘सूचित नागरिक नै लोकतन्त्रको बलियो आधार हो,’ भन्ने उनको भनाइ उनका सार्वजनिक गतिविधिमा बारम्बार दोहोरिन्छ ।
राजनीतिक दृष्टिकोण
नेपाली कम्युनिस्ट पार्टीको मूल्य र सिद्धान्तसँग आफू पूर्णतः समन्वयमा रहेको बताउने चौरसियाले भ्रष्टाचारप्रति शून्य सहनशीलता, सरल र पारदर्शी कर प्रणाली, श्रमिक र उद्यमीमैत्री आर्थिक नीति, युवाकेन्द्रित रोजगारी तथा सूदखोरीविरुद्ध कठोर कानुनी व्यवस्था आफ्नो प्रमुख राजनीतिक प्रतिबद्धता रहेको बताएका छन् ।
उनका अनुसार, ‘नेपाल असफल भएको क्षमताको कमीले होइन, नीतिगत इमानदारी र कार्यान्वयनको अभावले हो ।’ राजनीतिक विश्लेषकहरूका अनुसार पर्सा–१ मा अहिले नाराभन्दा नीतिगत स्पष्टता, प्रभावभन्दा इमानदार संघर्ष र आश्वासनभन्दा परिणाम दिने नेतृत्वको खोजी तीव्र छ । यही पृष्ठभूमिमा अजय चौरसियालाई शोषणविरुद्धको प्रमाणित इतिहास, व्यावसायिक क्षमता र जनपक्षीय दृष्टिकोण बोकेको उम्मेदवारका रूपमा हेरिएको छ ।
फागुन २१ गतेको निर्वाचनमा पर्सा–१ का मतदाताले कुन खालको नेतृत्व रोज्नेछन्, त्यो परिणामले देखाउनेछ । तर अजय चौरसियाको उदयले मधेश र राष्ट्रिय राजनीतिमा नीति र उत्तरदायित्वको बहसलाई भने केन्द्रमा ल्याएको छ ।

