चितवन,०३ माघ । भरतपुरका विकासको पहिचान बनेकी मेयर रेनु दाहालले नौ वर्षे नेतृत्वमा महानगरलाई साँघुरा र धुलाम्य सडक, जीर्ण विद्यालय भवन र आधारभूत सुविधाबाट वञ्चित शहरबाट आधुनिक, उज्यालो र सुविधायुक्त सहरमा रुपान्तरण गर्न सफल भएकी छन्।
उनको नेतृत्वमा सडक, बत्ती, स्मार्ट सीसीटीभी, भूमिगत संरचना, कृषि, शिक्षा, स्वास्थ्य र पर्यटन लगायतका क्षेत्रमा ऐतिहासिक काम भएका छन्। ९ वर्षको अवधिमा १,०७२ किलोमिटर नयाँ सडक कालोपत्रे, ४१८ वटा स्मार्ट सीसीटीभी क्यामेरा स्थापना, भूमिगत विद्युत् तार बिछ्याइ, भूमिगत सिँचाइ प्रणाली विस्तार तथा करिब ८ हजार विगाहा जग्गामा सिँचाइ सुविधा पुर्याइएको छ।
कृषि क्षेत्रको प्रवर्द्धनका लागि मात्रै २२ करोड रुपैयाँ बराबरको दूध अनुदान वितरण भएको छ। महानगरको आन्तरिक आम्दानी पनि बढेर करिब १ अर्ब ४० करोड रुपैयाँ पुगेको छ।
सार्वजनिक विद्यालयको संरचना र शिक्षाको गुणस्तर, स्वास्थ्य सेवा, खानेपानीको पहुँच र सरसफाइ व्यवस्थापनमा उल्लेखनीय सुधार आएको छ। भरतपुर विमानस्थलको नयाँ टर्मिनल भवन, गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला, नारायणी नदीमाथिको आकर्षक पुल लगायतका परियोजना पनि द्रुत गतिमा अघि बढाइएको छ।
नौ वर्षे अनुभवबारे बोल्दै मेयर दाहालले भनिन्, “भरतपुरकै लागि मैले आफ्नो व्यक्तिगत चाहनालाई पन्छाएर जनताको सेवा र सुखदुःखलाई प्राथमिकता दिएँ।”
उनको नेतृत्वमा भरतपुरले सुशासन, आर्थिक पारदर्शिता, हरियाली र आधुनिक विकासका कारण देशभरका स्थानीय तहका लागि उदाहरणीय महानगरको पहिचान बनाएको छ।

