काठमाडौं,०१ माघ । विशेष महाधिवेशनबाट सभापति चुनिएपछि गगन थापाको नेतृत्वमा रहेको नेपाली कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति बैठक आज बस्ने भएको छ। बैठक बिहीबार बिहान ललितपुरको कुपन्डोलस्थित म्याक्सिम्स बैंक्वेटमा बस्ने कार्यक्रम तय भएको छ।
भृकुटीमण्डपमा बुधबार सम्पन्न विशेष महाधिवेशनले थापालाई सर्वसम्मत रूपमा कांग्रेस सभापति चयन गरेको थियो। त्यससँगै पार्टीको नयाँ नेतृत्व टिम पनि गठन गरिएको छ।
उपसभापतिमा विश्वप्रकाश शर्मा र पुष्पा भुसाल चयन भएका छन्। यस्तै महामन्त्रीमा गुरूराज घिमिरे र प्रदीप पौडेल विजयी भएका छन्।
सहमहामन्त्रीतर्फ मुस्लिम क्लस्टरबाट फरमुल्लाह मन्सुर, मधेसीबाट मुक्ता कुमारी यादव, दलितबाट प्रकाश रसाइली, महिलाबाट डिला संग्रौला पन्त, आदिवासी जनजातिबाट बहादुर सिंह लामा, खस आर्यबाट उदयशमशेर राणा, थारू क्लस्टरबाट योगेन्द्र चौधरी र पिछडिएको समुदायबाट कर्ण बूढा चयन भएका छन्।
यस्तै केन्द्रीय सदस्यमा खुलातर्फ ३५ जना, महिला खुलातर्फ ९ जना तथा विभिन्न क्लस्टरमार्फत १२१ जना समेत चयन गर्दै महाधिवेशनले नेपाली कांग्रेसमा नयाँ संरचना पूर्णता दिएको छ।
थापाको सभापतित्वमा बस्न लागेको आजको बैठकले पार्टीको आगामी कार्ययोजना, संगठन विस्तार तथा राजनीतिक रणनीतिबारे प्रारम्भिक दिशा निर्धारण गर्ने अपेक्षा गरिएको छ।

