वीरगंज,१८ पुस । जनता समाजवादी पार्टी (जसपा) नेपाल, पर्साले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि जिल्लाका चारै निर्वाचन क्षेत्रबाट उम्मेदवारको नाम सिफारिस गरेको छ।
जिल्ला समितिको शुक्रबार बसेको कार्यकारिणी समितिको बैठकले प्रतिनिधि सभा निर्वाचनका लागि प्रत्यक्षतर्फका उम्मेदवारहरूको नाम केन्द्रीय समितिमा सिफारिस गर्ने निर्णय गरेको हो। यसबारे जानकारी दिँदै जसपा नेपाल पर्साका जिल्ला अध्यक्ष रामनरेश प्रसाद यादवले बैठकको निर्णय सार्वजनिक गरेका छन्।
अध्यक्ष यादवका अनुसार पर्सा निर्वाचन क्षेत्र नं. १ बाट लालबाबु राउत, रामनरेश प्रसाद यादव र बालकिशोर प्रसाद यादवलाई उम्मेदवारका रूपमा सिफारिस गरिएको छ। क्षेत्र नं. १ बाट पहिलो नम्बरमा सिफारिस भएका लालबाबु राउत मधेश प्रदेशका पूर्व मुख्यमन्त्री तथा हालका प्रदेश सभा सदस्य समेत रहेका छन्।
त्यसैगरी, पर्सा निर्वाचन क्षेत्र नं. २ बाट सुरेन्द्र प्रसाद कुर्मी, अशोक कुमार टेमानी, संतोष तिवारी, कामेश पण्डित, आशुतोष चर्तुवेदी र बिरेन्द्र प्रसाद यादवको नाम सिफारिस गरिएको छ। क्षेत्र नं. २ बाट पहिलो नम्बरमा सिफारिस भएका सुरेन्द्र प्रसाद कुर्मी यसअघि पनि प्रतिनिधि सभा सदस्यको निर्वाचनमा सहभागी भइसकेका थिए भने नेपाली कांग्रेसका अजय चौधरीसँग पराजित भएका थिए।
यसैगरी, प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. ३ बाट नगेन्द्र प्रसाद यादव र भरत गिरी तथा निर्वाचन क्षेत्र नं. ४ बाट डा. कृपासिन्धु प्रसाद चौधरीको एकल नाम उम्मेदवारका रूपमा केन्द्रीय समितिमा सिफारिस गर्ने निर्णय गरिएको जिल्ला अध्यक्ष रामनरेश प्रसाद यादवद्वारा जारी प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ।
निर्वाचन क्षेत्र नं. ४ बाट एकल नाम सिफारिस भएका डा. कृपासिन्धु प्रसाद चौधरी केही दिनअघि मात्र नेपाली कांग्रेस परित्याग गरी जसपा नेपालमा प्रवेश गरेका हुन्। 

