काठमाडौं,२४ असार । विशेष अदालतले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) मुद्दाको अनुसन्धानका क्रममा पक्राउ परेका नेकपा (एमाले) का उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेललाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।
विशेष अदालतका न्यायाधीशद्वय नारायणप्रसाद पौडेल र विदुर कोइरालाको संयुक्त इजलासले बुधबार सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई पौडेलमाथिको अनुसन्धानका लागि थप म्याद प्रदान गर्ने आदेश दिएको हो। योसँगै पौडेलमाथि अनुसन्धानका लागि हिरासत अवधि चौथोपटक थप भएको छ। व्यवसायी दीपक भट्टसँग जोडिएको सम्पत्ति शुद्धीकरण तथा आर्थिक कारोबारसम्बन्धी कसुरको अनुसन्धानका क्रममा विभागले पौडेललाई गत असार ८ गते सुर्खेतबाट नियन्त्रणमा लिएको थियो।
अदालतको आदेशपछि पौडेललाई न्यायिक हिरासतमा राखेर सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान प्रक्रिया अघि बढाइरहेको छ। विभागले घटनासँग सम्बन्धित प्रमाण संकलन तथा बयान लिने कामलाई निरन्तरता दिइरहेको जनाएको छ। यसैबीच, पौडेलको रिहाइको माग गर्दै उनकी पत्नीले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदन सर्वोच्च अदालतले खारेज गरिदिएको छ। रिट खारेज भएसँगै पौडेललाई हिरासतमा राखेर अनुसन्धान गर्ने बाटो थप खुलेको छ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले आर्थिक कारोबार र सम्बन्धित प्रमाणका आधारमा अनुसन्धान अघि बढाइरहेको छ भने अदालतबाट प्राप्त अनुमतिअनुसार थप अनुसन्धान प्रक्रिया जारी रहने जनाएको छ।

