वीरगंज,२४ असार । वीरगंजको मुख्य सडक विस्तार अभियानअन्तर्गत बुधबार पनि सडक क्षेत्रभित्र पर्ने संरचना हटाउने कार्यलाई निरन्तरता दिइएको छ। सडक विस्तार अभियानको तेस्रो दिन मुर्ली चोकदेखि जिल्ला प्रहरी कार्यालयसम्मका सडकको दायाँ–बायाँ २५/२५ मिटर क्षेत्रभित्र रहेका संरचना हटाउने काम अघि बढाइएको हो।
सडक डिभिजन कार्यालय हेटौँडाको नेतृत्वमा सञ्चालन भइरहेको अभियानअन्तर्गत बुधबार आधा दर्जन डोजर परिचालन गरी सडक क्षेत्र अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाइएको छ। सोमबारदेखि सुरु भएको अभियानलाई निरन्तरता दिँदै सडक क्षेत्र खाली गराउने कार्यलाई तीव्रता दिइएको हो।
वीरगंजको मुख्य सडक विस्तारका लागि सडक डिभिजन कार्यालयले दोस्रो पटक डोजर अभियान सञ्चालन गरेको हो। यसअघि पनि सडक क्षेत्रभित्र निर्माण गरिएका विभिन्न संरचना हटाइएको थियो।
सडक विस्तार अभियानले सहरको यातायात व्यवस्थापनलाई थप सहज बनाउने अपेक्षा गरिएको छ। सडक फराकिलो भएपछि सवारी आवागमन व्यवस्थित हुने, ट्राफिक जामको समस्या न्यूनीकरण हुने तथा वीरगंजको सौन्दर्यमा समेत सुधार आउने विश्वास गरिएको छ।
सडक डिभिजन कार्यालय हेटौँडाका अनुसार अभियानलाई निरन्तरता दिँदै बिहीबार वीरगंजको घण्टाघर क्षेत्र आसपासका सडक क्षेत्रभित्र पर्ने संरचनाहरू पनि डोजर प्रयोग गरी हटाइने छ।
वीरगंजको मुख्य सडक विस्तार लामो समयदेखि चर्चामा रहेको विषय हो। सडक क्षेत्र खाली गराउने अभियानले तीव्रता पाएसँगै स्थानीय बासिन्दा, व्यवसायी र सरोकारवालाको चासोसमेत बढेको छ।

