वीरगंज,२४ असार । पर्साको कालिकामाई गाउँपालिकामा कार्यरत एक कर्मचारीमाथि कार्यालयभित्रै कुटपिट तथा दुर्व्यवहार भएको घटनाको विरोधमा गाउँपालिकाका सम्पूर्ण कर्मचारी आन्दोलनमा उत्रिएका छन्। दोषीमाथि कानुनी कारबाही र कर्मचारीको सुरक्षा सुनिश्चित गर्न माग गर्दै उनीहरूले पेनडाउन आन्दोलन सुरु गरेका हुन्। आन्दोलनका कारण गाउँपालिकाको सम्पूर्ण प्रशासनिक कामकाज ठप्प भएको छ भने गाउँपालिका अन्तर्गत सञ्चालित सबै विद्यालयसमेत बन्द भएका छन्।
मंगलबार दिउँसो करिब १२:५१ बजे गाउँ कार्यपालिकाको कार्यालय परिसरभित्र कम्प्युटर अपरेटर (चौथो तह) चन्दन कुमार चौरसियामाथि कुटपिट तथा दुर्व्यवहार भएको भन्दै कर्मचारीहरूले घटनाप्रति गम्भीर आपत्ति जनाएका छन्। घटनापछि उनीहरूले प्रमुख जिल्ला अधिकारी भोला दाहाललाई ज्ञापनपत्र बुझाउँदै दोषीमाथि तत्काल कानुनी कारबाहीको माग गरेका छन्।
गाउँपालिकाका सम्पूर्ण कर्मचारीहरूले संयुक्त रूपमा जारी गरेको प्रेस विज्ञप्तिमा कार्यालय समयमै आफ्नो जिम्मेवारी निर्वाह गरिरहेका कर्मचारीमाथि योजनाबद्ध रूपमा भएको आक्रमणलाई केवल एक व्यक्तिमाथिको नभई सम्पूर्ण कर्मचारी समुदायमाथिको आक्रमणका रूपमा लिइएको उल्लेख गरिएको छ। यस्तो घटनाले कर्मचारीहरूको मनोबल कमजोर पार्नुका साथै सार्वजनिक प्रशासन, सेवा प्रवाह र सुशासनमा समेत प्रतिकूल प्रभाव पर्ने विज्ञप्तिमा जनाइएको छ।
विज्ञप्तिअनुसार घटनाको पृष्ठभूमि स्वास्थ्य शाखामार्फत सञ्चालन हुने बहुक्षेत्रीय पोषण कार्यक्रमसँग सम्बन्धित विषयसँग जोडिएको भए पनि उक्त विषयमा कम्प्युटर अपरेटर चन्दन कुमार चौरसियाको व्यक्तिगत कुनै संलग्नता वा दोष नरहेको अवस्थामा उनीमाथि आक्रमण हुनु अत्यन्त दुःखद, दुर्भाग्यपूर्ण र निन्दनीय भएको कर्मचारीहरूको भनाइ छ।
कर्मचारीहरूले घटनामा संलग्न रहेको आरोप लगाउँदै कालिकामाई गाउँपालिका–२ का राजनिश कुशवाहा, वडा नम्बर ३ का वडाध्यक्ष सञ्जय कुमार पटेलसहित अन्य व्यक्तिहरूमाथि संघीय कानुनबमोजिम कडा कारबाही गर्न माग गरेका छन्। साथै सरकारी कार्यालयमा कार्यरत कर्मचारीहरूको सुरक्षा सुनिश्चित गर्न सम्बन्धित निकायसँग आग्रह गरेका छन्।
माग पूरा नभएसम्म गाउँपालिकाका सम्पूर्ण कर्मचारीले कार्यालयमा नियमित कामकाज नगरी जिल्ला प्रशासन कार्यालयमा धर्ना दिने तथा पेनडाउन आन्दोलनलाई निरन्तरता दिने चेतावनीसमेत दिएका छन्।
यता, घटनाबारे अनुसन्धान अघि बढाएको इलाका प्रहरी कार्यालय पोखरियाले घटनामा संलग्न रहेको आरोपमा कालिकामाई गाउँपालिका–२ निवासी रामबालक साह कानु र अरविन्द चौरसियालाई नियन्त्रणमा लिएको जनाएको छ। घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार घटनाको थप अनुसन्धान भइरहेको छ भने फरार रहेका अन्य आरोपितहरूको खोजीलाई तीव्र बनाइएको छ।

