लुम्बिनी,१४ असार । रुपन्देहीमा प्रहरीले भन्सार छलेर भारतबाट अवैध रूपमा ल्याइएका करिब २४ लाख रुपैयाँ बराबरका मोबाइल फोन बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार नियमित गस्तीमा रहेको प्रहरी टोलीले ओमसतिया गाउँपालिका–४ स्थित सानो बालापुर क्षेत्रबाट ती मोबाइल सेट बरामद गरेको हो। बरामद गरिएको सामग्रीमा विभिन्न मोडलका एप्पल कम्पनीका आईफोनहरू रहेको प्रहरीले जनाएको छ। प्रारम्भिक मूल्यांकन अनुसार बरामद गरिएका फोनहरूको मूल्य करिब २३ लाख ९० हजार रुपैयाँ बराबर रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिएका छन्।
प्रहरीका अनुसार भन्सार छलेर अवैध रूपमा ल्याइएका मोबाइलहरू लुकाइछिपाइ राखिएको अवस्थामा फेला पारिएको हो। बरामद सामग्री आवश्यक प्रक्रिया पूरा गर्नका लागि सम्बन्धित निकायमा बुझाइएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

