काठमाडौं,१४ असार । राष्ट्रिय धान दिवस तथा दही–चिउरा खाने दिनका रूपमा मनाइने असार १५ मा देशका केही क्षेत्रमा मौसम प्रतिकूल रहने सम्भावना देखिएको छ। जल तथा मौसम विज्ञान विभागले उक्त दिन भारीदेखि धेरै भारी वर्षा तथा हावाहुरीको जोखिम रहने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ।
विभागका अनुसार असार १५ गते विशेषगरी रातिको समयमा कोशी प्रदेशका पहाडी र तराईका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ। साथै, मधेश प्रदेशका एक–दुई स्थानमा पनि भारी वर्षाको सम्भावना रहेको छ। वर्षासँगै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्र तथा मधेश प्रदेशका केही भागमा हावाहुरी चल्ने सम्भावना रहेको विभागले जनाएको छ। हाल देशमा मनसुनी वायु क्रमिक रूपमा सक्रिय बन्दै गएको छ।
अहिले कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण भूभागमा तथा गण्डकी र लुम्बिनी प्रदेशको पूर्वी क्षेत्रमा मनसुनको प्रभाव पूर्ण रूपमा कायम रहेको छ। अन्य स्थानमा भने स्थानीय र पश्चिमी वायुको आंशिक प्रभाव रहेको विभागले जनाएको छ। आगामी तीनदेखि चार दिनभित्र गण्डकी र लुम्बिनीका बाँकी क्षेत्रसहित कर्णाली र सुदूरपश्चिम प्रदेशमा पनि मनसुन फैलिने सम्भावना रहेको छ। असार १३ गते (शनिबार) राति : कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी तथा हिमाली क्षेत्रमा सामान्यदेखि पूर्ण बदली रहनेछ। लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा भने आंशिक बदली रहने अनुमान गरिएको छ। कोशी, बागमती र गण्डकीका पहाडी तथा हिमाली भूभागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा वा हिमपात हुन सक्ने सम्भावना छ। कोशी प्रदेशका तराई क्षेत्र तथा मधेशका केही स्थानमा, बागमती र गण्डकीका तराईका थोरै स्थानमा तथा लुम्बिनीका तराईका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ। कोशी प्रदेशका पहाडी तथा तराईका केही स्थानमा भारी वर्षाको सम्भावना समेत रहेको छ।
असार १४ गते (आइतबार) दिउँसो : देशका पहाडी र हिमाली भूभागमा सामान्य बदली रहनेछ भने तराईमा आंशिक बदली रहनेछ। कोशी प्रदेशका केही स्थानमा तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। कर्णाली र सुदूरपश्चिमका पहाडी तथा हिमाली क्षेत्रमा पनि यस्तै अवस्था रहने अनुमान गरिएको छ। मधेश, बागमती, गण्डकी र लुम्बिनीका तराईका केही स्थान तथा सुदूरपश्चिमका तराईका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा हुन सक्छ। यसैबीच, सुदूरपश्चिमका तराई क्षेत्र र लुम्बिनी प्रदेशको पश्चिमी तराईमा तातो लहर चल्ने सम्भावना रहेको छ।
आइतबार राति देशभर सामान्य बदली रहनेछ। कोशी, बागमती र गण्डकीका पहाडी तथा हिमाली भूभागका केही स्थानमा तथा कर्णाली र सुदूरपश्चिमका पहाडी क्षेत्रका थोरै स्थानमा मेघगर्जनसहित मध्यम वर्षा वा हिमपात हुन सक्ने सम्भावना छ। मधेश प्रदेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका केही स्थानमा पनि मध्यम वर्षा हुने सम्भावना छ। कोशी प्रदेशका केही स्थानमा भारी वर्षा र कोशी तथा मधेशका केही क्षेत्रमा हावाहुरी चल्न सक्ने अनुमान गरिएको छ।
असार १५ गते (सोमबार) दिउँसो : देशभर सामान्य बदली रहनेछ। पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा वा हिमपात हुन सक्नेछ भने तराईका थोरै स्थानमा पनि वर्षाको सम्भावना छ। कोशी प्रदेशका केही स्थानमा भारी वर्षा हुन सक्नेछ। साथै, कोशी प्रदेशको तराई र मधेश प्रदेशका केही क्षेत्रमा हावाहुरी चल्ने सम्भावना रहेको छ।
सोमबार राति देशभर सामान्य बदली रहनेछ। कोशी प्रदेशका धेरै स्थानमा तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा वा हिमपात हुन सक्ने सम्भावना छ। कर्णाली र सुदूरपश्चिमका पहाडी तथा हिमाली क्षेत्रमा पनि वर्षाको सम्भावना रहेको छ। मधेश तथा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराईका केही स्थानमा मध्यम वर्षा हुने अनुमान गरिएको छ। कोशी प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षा र मधेश प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने विभागले जनाएको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्र तथा मधेश प्रदेशका केही स्थानमा हावाहुरीको सम्भावना पनि रहेको छ।

