31.7 C
Birgunj
Date
मङ्ल, बैशाख २९, २०८३
Tue, May 12, 2026
spot_img

वीरगंज महानगरको कडा कदम : निष्क्रिय ८८ सहकारीसंस्थाको दर्ता खारेजी प्रक्रिया अघि बढ्यो

वीरगंज (पर्सा), २६ वैशाख । वीरगंज महानगरपालिकाले लामो समयदेखि निष्क्रिय रहेका सहकारी संस्थाविरुद्ध कडा कदम चाल्दै ८८ वटा सहकारी संस्थाको दर्ता खारेजी प्रक्रिया अघि बढाएको छ । महानगरपालिकाको सहकारी शाखाद्वारा जारी सूचनाअनुसार सहकारी ऐन तथा नियमावलीविपरीत गतिविधि गर्दै आएका र सम्पर्कविहीन अवस्थामा रहेका संस्थामाथि कानुनी प्रक्रिया सुरु गरिएको हो ।

महानगरपालिकाले सार्वजनिक गरेको सूचनामा आर्थिक वर्ष २०८२/०८३ को निर्णयअनुसार वीरगंज महानगर क्षेत्रभित्र दर्ता भई लामो समयदेखि निष्क्रिय रहेका सहकारी संस्थाहरूले सहकारी ऐनअनुसार पेश गर्नुपर्ने मासिक प्रगति विवरण, वार्षिक साधारण सभाको निर्णय प्रतिवेदन, लेखा परीक्षण प्रतिवेदन तथा अन्य आवश्यक विवरण पेश नगरेको उल्लेख गरिएको छ ।

सूचनामा ती सहकारी संस्थाहरू पूर्ण रूपमा सम्पर्कविहीन रहेको, कार्यालय सञ्चालन नगरेको तथा वित्तीय कारोबारसम्बन्धी कुनै विवरणसमेत उपलब्ध नगराएको जनाइएको छ । महानगरपालिकाका अनुसार सहकारी ऐन २०७४ को दफा ६६ उपदफा ३ बमोजिम आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको हो ।

महानगरपालिकाले दर्ता खारेजी प्रक्रिया अघि बढाइएका संस्थालाई ३५ दिनभित्र स्पष्टीकरण तथा आवश्यक प्रमाणसहित सम्पर्कमा आउन अन्तिम अवसरसमेत दिएको छ । तोकिएको अवधिभित्र सम्पर्कमा नआए कानुनबमोजिम दर्ता स्वतः खारेज गरिने चेतावनी सूचनामा उल्लेख गरिएको छ ।

दर्ता खारेजी प्रक्रियामा परेका सहकारी संस्थामध्ये अधिकांश बचत तथा ऋण सहकारी संस्था रहेका छन् । सूचीमा आफ्ने बचत तथा ऋण सहकारी संस्था, आधार बचत तथा ऋण सहकारी संस्था, जागरण बचत तथा ऋण सहकारी संस्था, मानव समाज बचत तथा ऋण सहकारी संस्था, राष्ट्रिय बचत तथा ऋण सहकारी संस्था, सफल बचत तथा ऋण सहकारी संस्था, समाजिक विकास बचत तथा ऋण सहकारी संस्था लगायतका नाम समावेश छन् ।

महानगरपालिकाको यो कदमलाई सहकारी क्षेत्रमा पारदर्शिता, जवाफदेहिता र वित्तीय अनुशासन कायम गर्ने प्रयासका रूपमा हेरिएको छ । पछिल्लो समय सहकारी क्षेत्रप्रति बढ्दो अविश्वास र सर्वसाधारणको बचत जोखिममा पर्ने घटनाबीच वीरगंज महानगरले निष्क्रिय तथा गैरजिम्मेवार संस्थामाथि निगरानी बढाएको संकेत पनि यस निर्णयले दिएको छ ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here