वीरगंज,२३ बैशाख । वीरगंज महानगरपालिका–१० घडिअर्वाबाट हराएका दुई किशोरीलाई नेपाल र भारतका प्रहरीबीचको समन्वयमा सकुशल उद्दार गरी स्वदेश फर्काइएको छ। हराएको दुई दिनपछि भारतको बिहार राज्यस्थित छपरा रेल्वे स्टेशनबाट उनीहरूलाई फेला पारेर मंगलबार साँझ वीरगंज ल्याइएको हो।
हराउनेमा स्थानीय दीपेन्द्र कानुकी १४ वर्षीया छोरी आर्या गुप्ता र विनोद सहनीकी १४ वर्षीया छोरी रिद्धि सिद्धी (नाव्या) सहनी रहेका छन्। उनीहरू सोमबार दिउँसो करिब ३ः३० बजे ट्युसन पढ्न जाने भन्दै घरबाट निस्किएका थिए। साँझसम्म घर नफर्किएपछि परिवारले प्रहरीमा जानकारी गराएका थिए। 
खोजी अभियानका क्रममा नेपाल प्रहरीले भारतीय प्रहरीसँग समन्वय गर्दै उनीहरूको लोकेसन पत्ता लगाएको थियो। त्यसपछि भारतीय सुरक्षाकर्मीको सहयोगमा छपरा रेल्वे स्टेशनबाट उनीहरूलाई नियन्त्रणमा लिई सुरक्षित रूपमा उद्दार गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक राजु कार्कीले जानकारी दिए। उद्दारपछि उनीहरूलाई वीरगंज ल्याई जिल्ला प्रहरीको सेफ हाउसमा राखेर आवश्यक प्रक्रिया पूरा गरी बुधबार अभिभावकको जिम्मा लगाइएको उनले बताए।
प्रहरी अनुसन्धानअनुसार रिद्धि सिद्धी वीरगंजस्थित इस्कोन कार्यालयमा नियमित आवतजावत गर्ने गरेकी थिइन्। उनले आर्यालाई भारतको मथुरा–वृन्दावन घुम्न जाने प्रस्ताव गरेपछि दुवै जना घरबाट निस्किएका थिए। तर ट्युसन नजाँदै उनीहरू सिधै रक्सौल रेल्वे स्टेशन पुगेका थिए। त्यहाँबाट रेल चढेर उनीहरू नरकटियागञ्ज, गोरखपुर हुँदै मुजफ्फरपुर पुगे र अन्ततः छपरा स्टेशनमा ओर्लिएका थिए।
यात्राका क्रममा मथुरा पुग्न आवश्यक रकम नपुगेपछि रिद्धिले आफ्नी बहिनीको मोबाइलमा क्यूआर कोड पठाएर सहयोग मागेकी थिइन्। उक्त सूचना पर्सा क्षेत्र नं. २ का सांसद सुशील कानुमार्फत प्रहरीसम्म पुगेपछि खोजी कार्य थप तीव्र बनाइएको थियो। प्रहरी उपरीक्षक सुदीपराज पाठकको समन्वयमा भारतीय सुरक्षाकर्मीसँग सहकार्य गरी अन्ततः उनीहरूको अवस्थिति पत्ता लगाइएको हो।
उद्दारपछि भारतीय प्रहरीले आर्या गुप्ताका काका लालबाबु कानु र स्थानीय युवा नेता लखन गुप्ताको जिम्मामा दुवै किशोरीलाई बुझाएको थियो। त्यसपछि उनीहरूलाई सुरक्षित रूपमा नेपाल ल्याइएको प्रहरीले जनाएको छ। यस घटनाले अभिभावकलाई बालबालिकाको गतिविधिप्रति अझ सजग रहनुपर्ने सन्देश दिएको छ भने सीमा क्षेत्रमा हुने आवागमनमा थप सतर्कता अपनाउनुपर्ने आवश्यकता पनि औंल्याएको छ।

