30.8 C
Birgunj
Date
मङ्ल, बैशाख २२, २०८३
Tue, May 5, 2026
spot_img

वैदेशिक रोजगार बीमा सेवा सरकारी कम्पनीलाई मात्र दिने प्रस्तावमा छलफल

काठमाडौं,२१ बैशाख । वैदेशिक रोजगार म्यादी जीवन बीमा सरकारी कम्पनीलाई मात्रै दिने बारेमा छलफल भएको छ । हाल वैदेशिक रोजगार म्यादी जीवन बीमा १३ वटा जीवन बीमा कम्पनी मार्फत हुँदै आएको छ । सरकारी दुई वटा बीमा कम्पनीलाई यो पोलिसि बिक्रीको जिम्मा दिनेबारे छलफल भइरहेको छ ।

हाल नेपालमा १४ वटा ठूला जीवन बीमा कम्पनी र ३ वटा लघु जीवन बीमा कम्पनी रहेका छन् । मेटलाइफ र लाइफ इन्स्योरेन्स कर्पाेरेशन नेपालले भने यो बीमा पोलिसि बिक्री गर्दैन । बाँकी १३ वटा कम्पनीले पोलिसि बिक्री गर्दछन् ।

सरकारी स्वामित्वको एकर/एक वटा जीवन र निर्जीवन बीमा कम्पनीहरू रहेका छन् । जीवनमा राष्ट्रिय जीवन बीमा कम्पनी र निर्जीवनमा राष्ट्रिय बीमा कम्पनी रहेका छन् । वैदेशिक रोजगार म्यादी जीवन बीमाको व्यवसाय सोही दुई कम्पनीलाई जिम्मा दिने विषयमा अर्थ मन्त्रालय र प्रधानमन्त्री कार्यालयमा पटक पटक छलफल भइरहेको छ ।

भएको के हो ?

खासगरी प्रधानमन्त्री भएदेखि बालेन शाहले सरकारी निकायलाई सबल बनाउने सोच बनाएका छन् । उनले आफ्ना सल्लाहकार र सम्बन्धित मन्त्रालयहरूमा पनि सरकारी निकायहरूलाई सबल बनाउने विषयमा छलफल गरिरहेका छन् ।

सोही कारण सरकारी विज्ञापन सरकारी सञ्चार माध्यमलाई मात्रै दिने निर्णय उनी प्रधानमन्त्री भएको एक सातामै गरेका थिए । यसैगरी, उनले कुन सरकारी निकायको कस्तो अवस्था छ भनेर पनि अध्ययन गरिरहेको स्रोतको भनाई छ ।

यसैबिचमा सरकारी स्वामित्वमा रहेको राष्ट्रिय जीवन बीमा कम्पनी र राष्ट्रिय बीमा कम्पनीको बारेमा पनि उनले अध्ययन गरे । जहाँ निजी क्षेत्रको लगानी भएको सोही प्रकृतिका कम्पनीहरूको तुलनामा सरकारी स्वामित्वको ति बीमा कम्पनीको ब्यालेन्स सिट कमजोर रहेको महसुस भएपछि ति कम्पनीलाई कसरी सबल बनाउने भन्ने बारेमा उनले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग पटक छलफल गरेका थिए ।

उसो त, अर्थमन्त्री डा. स्वर्णिम वाग्ले पनि यी विषयमा खासै जानकार थिएनन् । प्रधानमन्त्री शाहले चासो देखाएपछि अर्थमन्त्री वाग्ले पनि यी दुई कम्पनीलाई कसरी सबल बनाउन सकिन्छ भन्ने बारेमा आफ्ना नजिकका सांसदहरुसँगै छलफलमा जुटेका थिए ।

सोही बारेमा उनले प्रतिनिधिसभा सदस्य तथा लेखा समितिका सभापति डा.कृष्ण हरि बुढाथोकी सँग पनि छलफल गरेको स्रोतले बताएको छ । उता प्रधानमन्त्री शाहले प्रतिनिधिसभा सदस्य सुशान्त वैदिकसँग पनि यस बारेमा छलफल गरेका थिए ।  

अर्थमन्त्री वाग्लेलाई अर्थ समितिका सभापति बुढाथोकीले वैदेशिक रोजगार म्यादी जीवन बीमाको व्यवसायको जिम्मा सरकारी कम्पनीलाई मात्रै दिएर अहिलेलाई ति कम्पनीहरूलाई आर्थिक रुपमा सबल बनाउन सकिने सुझाव दिएका थिए । उक्त कम्पनीहरूलाई सुधार गर्नुपर्ने विषयहरू पछि अध्ययन गरेर छलफल गर्न सकिने भन्दै हाललाई वैदेशिक रोजगार बीमाको जिम्मा दिनुपर्ने उनको सुझाव थियो ।

तर, यस विषयमा अर्थमन्त्री वाग्ले भने सहमत भएका थिएनन् । उता प्रधानमन्त्री शाह भने यस विषयमा सहमत भएका छन् । अर्थमन्त्री वाग्लेलाई सहमत गराएर नेपाल बीमा प्राधिकरणका प्रतिनिधि र बीमा विज्ञसँग यस विषयमा छलफल गर्ने प्रधानमन्त्रीको तयारी छ ।

कति छ वैदेशिक रोजगार म्यादी जीवन बीमाको व्यापार ?

आर्थिक वर्ष २०८०/०८१ मा ३ अर्ब १२ करोड रुपैयाँको बढीको वैदेशिक रोजगार म्यादी जीवन बीमाको व्यापार भएको थियो भने आर्थिक वर्ष २०८१/०८२ मा ३ अर्ब ५७ करोड रुपैयाँको भएको थियो ।

चालु आव २०८२/०८३ को ९ महिनामा २ अर्ब ५० करोड रुपैयाँको वैदेशिक रोजगार म्यादी जीवन बीमाबाट संकलन भएको छ ।

के हो वैदेशिक रोजगार म्यादी जीवन बीमा ?

श्रम श्रीकृति लिएर विदेशमा रोजगारीमा जाने युवाको बीमा गर्ने पोलिसि नै वैदेशिक रोजगार म्यादी जीवन बीमा हो । रोजगारीका लागि विदेशमा जानु भन्दा अगाडि अनिवार्य रुपमा वैदेशिक रोजगार म्यादी जीवन बीमा गर्नुपर्ने हुन्छ ।

यस बीमा गरेपछि विदेशमा दुर्घटना र मृत्यु भएमा बीमा कम्पनीले दाबी भुक्तानी दिन्छ ।
सो बीमा गरेर विदेश गएको व्यक्तिलाई घातक रोग लागेमा बीमा कम्पनीले ५ लाख रुपैयाँ भुक्तानी दिन्छ । मृत्यु भएमा मृतकको परिवारलाई १० लाख रुपैयाँ, क्रिया खर्च १ लाख, शव नेपाल ल्याउन लागेको खर्च १ लाख र आय नोक्सानी बापत २ लाख गरी कुल १४ लाख रुपैयाँ परिवारलाई कम्पनीले दिन्छ ।

यसैगरी दुर्घटना भएर पूर्ण रुपमा अशक्त भएमा १० लाखमा आय नोक्सानी बापत २ लाख गरी १२ लाख रुपैयाँ कम्पनीले दिन्छ । यस सन्दर्भमा आंशिक रुपमा असक्त भएमा ५ लाख रुपैयाँमा आय नोक्सानी बापत १ लाख थपेर ६ लाख रुपैयाँ कम्पनीले भुक्तान गर्दछ । त्यसैगरी १५ वटा प्राण घातक रोग मध्ये कुनै पनि एक रोग लागेमा ५ लाख रुपैयाँ भुक्तान हुन्छ ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here