43.5 C
Birgunj
Date
मङ्ल, बैशाख ८, २०८३
Tue, April 21, 2026
spot_img

धुलिखेल–खावा खण्डमा आवागमन सहज, दुईतर्फी यातायात सुरु

काठमाडौँ०२ बैशाख । स्तरोन्नति भइरहेको अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको धुलिखेल–खावा सडकखण्ड आजदेखि दुईतर्फी रूपमा सञ्चालनमा आएको छ। सडक कालोपत्रे गर्ने क्रममा २३ दिनसम्म पटक–पटक आवागमन बन्द तथा एकतर्फी सञ्चालन गरिएको थियो।

डिभिजन सडक कार्यालय भक्तपुरका अनुसार गत चैत २२ गतेदेखि उक्त खण्डमा कालोपत्रे (पीच) कार्य सुरु गरिएको थियो। त्यसयता रातको समयमा पूर्णरूपमा बन्द गरी दिनमा एकतर्फी सञ्चालन गर्दै धुलिखेल चोकबाट करिब २.५ किलोमिटर सडक पक्की बनाइसकिएको छ।

सोमबारदेखि सम्पूर्ण प्रकारका सवारी साधनलाई दुईतर्फी आवागमन खुला गरिएको डिभिजन सडक कार्यालय भक्तपुरका प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले जानकारी दिए।

उनका अनुसार चार किलोमिटरमध्ये बाँकी १.५ किलोमिटर सडकको कालोपत्रे कार्य यसै सातादेखि सुरु गरिनेछ। सडकमा ग्राभेलमाथि २० सेन्टिमिटर बाक्लो सिमेन्ट मिसाइएको बेस हाल्ने तथा दुई चरणमा डिबिएम र अस्फाल कालोपत्रे गरिने योजना छ।

लामो समयदेखि निर्माण व्यवसायीको लापरबाहीका कारण रोकिएको काम नयाँ निर्माण कम्पनीसँगको सम्झौतापछि पुनः तीव्र गतिमा अघि बढाइएको हो। कार्यालयले गत कात्तिकमा सी–एन ए–वान काली जेभीसँग १४ महिनाभित्र काम सम्पन्न गर्ने गरी भ्याटबाहेक रु ३१ करोड ५६ लाखमा ठेक्का सम्झौता गरेको थियो।

यसअघि तोकिएको समयमा काम सम्पन्न नगरेपछि गौरी–पार्वती निर्माण सेवा कम्पनीसँगको ठेक्का २०८१ फागुन १५ गते रद्द गरिएको थियो। सो कम्पनीले २०८० चैत १९ गतेभित्र काम सम्पन्न गर्ने सम्झौता गरेको भए पनि करिब २५ प्रतिशत मात्र काम गरेको पाइएको थियो।

अरनिको राजमार्गको यो खण्ड नेपाल–चीन सीमास्थित तातोपानी नाका, सिन्धुपाल्चोक, दोलखा र रामेछापतर्फ जाने प्रमुख मार्गका रूपमा रहेको छ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here