27.1 C
Birgunj
Date
बुध, बैशाख ९, २०८३
Wed, April 22, 2026
spot_img

जसपा–कांग्रेस एकीकरण हल्लाले पर्सागढीको चुनावी वातावरण तातियो

वीरगंज (पर्सा), १४ फागुन । पर्सा क्षेत्र नं. २ अन्तर्गत पर्ने पर्सागढी नगरपालिकामा यतिबेला राजनीतिक तरंग चर्किएको छ । स्थानीय स्तरमा सक्रिय रहँदै आएका सुरज कुमार मानन्धरमाथि मतदातामाझ भ्रामक सूचना फैलाएको आरोप लागेपछि क्षेत्रको चुनावी माहोल थप तातिएको हो । पूर्वमा जनता समाजवादी पार्टी (जसपा) मा आवद्ध रहेका मानन्धरले हालै नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । तर पार्टी परिवर्तन गरेलगत्तै उनले ‘कांग्रेस र जसपा एकीकरण भइसकेको’ भन्ने भ्रमपूर्ण सन्देश मतदातामाझ फैलाइरहेको आरोप जसपाका नेताहरूले लगाएका छन् ।

२०७९ सालको स्थानीय तह निर्वाचनमा जसपाबाट पर्सागढी नगरपालिकाको प्रमुख पदका उम्मेदवार बनेका मानन्धर पराजित भएका थिए । त्यसयता पनि उनी पार्टी गतिविधिमा सक्रिय देखिन्थे । केही समयअघि मात्र पर्सा क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार अशोक टेमानीसँग घरदैलो कार्यक्रममा सहभागी भएका मानन्धरले एकाएक पार्टी परित्याग गरेर कांग्रेसमा प्रवेश गरेपछि राजनीतिक वृत्तमा आश्चर्य व्यक्त गरिएको छ । जसपा सम्बद्ध नेताहरूको दाबी अनुसार मानन्धरले आफ्नो निहित स्वार्थ पूरा नभएपछि पार्टी छाडेका हुन् । ‘पार्टी परित्याग गर्नु उनको व्यक्तिगत अधिकार हो,’ एक जसपा नेताले भने, ‘तर पार्टी छाडेपछि मतदातालाई भ्रममा पारेर जसपाको अस्तित्वमाथि प्रहार गर्नु कदापि स्वीकार्य हुँदैन ।’

निर्वाचन नजिकिँदै गर्दा यस्तो भ्रमपूर्ण सूचना फैलिनु लोकतान्त्रिक अभ्यासका लागि घातक हुने स्थानीय राजनीतिक विश्लेषकहरूको भनाइ छ । उनीहरूका अनुसार राजनीतिक प्रतिस्पर्धा विचार, कार्यक्रम र एजेण्डामा आधारित हुनुपर्छ, न कि भ्रम र प्रचारबाजीमा । अझ रोचक पक्ष के छ भने मानन्धरको सामाजिक सञ्जाल प्रोफाइलमा अहिले पनि उनी आफूलाई जसपाका नेता तथा पर्सागढी नगरपालिकाको पूर्व नगर प्रमुख प्रत्यासीका रूपमा उल्लेख गरिरहेका छन् । यसले मतदातामा थप अन्योल सिर्जना गरेको बताइन्छ । स्थानीय बासिन्दाहरूका अनुसार सामाजिक सञ्जालमार्फत फैलाइएका यस्ता सन्देशले मतदातालाई झुक्याउने प्रयास भइरहेको छ ।

पर्सागढीका केही मतदाताहरूले प्रतिक्रिया दिँदै भने, ‘हामीले सबै कुरा बुझिसकेका छौँ । निर्वाचनको बेला आएर यस्तो भ्रम फैलाउनु राम्रो संकेत होइन ।’ उनीहरूले मानन्धरलाई ‘दलबदलुवा नेता’ का रूपमा चित्रित गर्दै व्यक्तिगत स्वार्थका लागि राजनीतिक धरातल बदल्ने प्रवृत्तिको आलोचना गरेका छन् । राजनीति वृत्तमा चर्चा छ कि कांग्रेसमा प्रवेश गरेपछि अपेक्षित स्थान नपाएपछि मानन्धरले आफूलाई सान्दर्भिक देखाउन र प्रभाव कायम राख्न यस्तो रणनीति अपनाएका हुन् । यद्यपि मानन्धर पक्षबाट यसबारे औपचारिक प्रतिक्रिया सार्वजनिक भएको छैन ।

पर्सा क्षेत्र नं. २ मा यसअघि नै दलहरूबीच तीव्र प्रतिस्पर्धा देखिएको छ । यस क्षेत्रमा विभिन्न दलका उम्मेदवारहरूले घरदैलो, आमसभा र भेटघाटलाई तीव्रता दिइरहेका बेला भ्रमपूर्ण समाचार फैलिनु निर्वाचन आचारसंहिताको मर्मविपरीत भएको सरोकारवालाहरूको भनाइ छ । स्थानीय राजनीतिक जानकारहरू भन्छन्, ‘चुनावको बेला मतदातालाई प्रभावित पार्न अनेकौं प्रयास हुन्छन् । तर तथ्यहीन सूचना फैलाएर राजनीतिक लाभ लिन खोज्नु दीर्घकालीन रूपमा स्वयं नेताकै लागि घातक हुन्छ ।’

पर्सागढी नगरपालिकामा विगतका चुनावहरूमा पनि दल परिवर्तन गर्ने प्रवृत्ति देखिएको भएपनि यसपटक भने मतदाता बढी सचेत देखिएका छन् । सामाजिक सञ्जाल र स्थानीय मिडियाको सक्रियताले सूचना चाँडै फैलिने भएकाले मतदाताले सत्य असत्य छुट्याउने क्षमता पनि बढेको विश्लेषण गरिएको छ । जसपाका जिल्ला तहका एक नेताले भने, ‘हामी आन्तरिक रूपमा यस विषयमा छलफल गरिरहेका छौँ । आवश्यक परे कानुनी र संगठनात्मक कदम चालिनेछ ।’

यसबीच, निर्वाचन आयोगले पनि मतदातालाई भ्रममा पार्ने गतिविधि नगर्न राजनीतिक दल र उम्मेदवारहरूलाई सचेत गराउँदै आएको छ । निर्वाचन निष्पक्ष, पारदर्शी र शान्तिपूर्ण बनाउन सबै पक्ष जिम्मेवार हुनुपर्ने आयोगको जोड छ । पर्सा क्षेत्र नं. २ मा सुरज कुमार मानन्धरको पछिल्लो गतिविधिले चुनावी वातावरणमा नयाँ बहस सुरु गरिदिएको छ । मतदाताले भने अन्ततः विकास, स्थायित्व र विश्वसनीयताका आधारमा निर्णय गर्ने संकेत दिएका छन् ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here