वीरगंज,०६ जेष्ठ । पोखराको लिचीबारी भ्रष्टाचार प्रकरणमा थुनामा रहेका पूर्व सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता सर्वोच्च अदालतको आदेशपछि धरौटीमा रिहा हुने भएका छन् । 
काठमाडौंस्थित डिल्लीबजार कारागारमा रहेका गुप्तालाई सर्वोच्च अदालतले ५० लाख रुपैयाँ धरौटी माग गर्ने आदेश दिएपछि रिहाइ प्रक्रिया अघि बढाइएको हो । इजलास अधिकृत उदय प्रकाश लिम्बुका अनुसार मंगलबार आदेश भए पनि बुधबार मात्रै मिसिल विशेष अदालत पुगेपछि धरौटी प्रक्रिया अगाडि बढाइएको हो ।
सर्वोच्च अदालतका न्यायाधीश शारङ्गा सुवेदी र सुनिल कुमार पोखरेल को संयुक्त इजलासले विशेष अदालतको पूर्व आदेश बदर गर्दै गुप्तालाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।
सर्वोच्चको आदेशअनुसार बुधबार गुप्ताका परिवारले ५० लाख रुपैयाँ बराबरको बैंक ग्यारेन्टी बुझाएका छन् । धरौटी रकम बुझाइएकाले आजै रातिसम्म गुप्ता रिहा हुने सम्भावना रहेको जनाइएको छ ।
पूर्वमन्त्री गुप्ताको पक्षबाट अधिवक्ता कृष्ण प्रसाद पोखरेल, अजयजंशकर झा, दिपेन्द्र झा र कुमार शिलवाल सहित आधा दर्जनभन्दा बढी कानुन व्यवसायीले बहस गरेका थिए । नेपाल सरकारको तर्फबाट सरकारी वकिल रामहरि शर्मा काफ्ले ले बहस गरेका थिए ।
यसअघि २०८२ पुस १६ गते विशेष अदालतका न्यायाधीश सुदर्शनदेव भट्ट, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइराला सम्मिलित इजलासले गुप्तालाई थुनामा राखेर अनुसन्धान अघि बढाउन आदेश दिएको थियो । उक्त आदेश भएको करिब साढे पाँच महिनापछि गुप्ता धरौटीमा रिहा हुन लागेका हुन् ।

