विराटनगर,१७ पुस । सुनसरीमा सशस्त्र प्रहरीको गोली लागेर एक स्थानीयको मृत्यु भएपछि स्थिति तनावग्रस्त बनेको छ । घटनापछि आक्रोशित स्थानीयले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गर्दै प्रदर्शन सुरु गरेका छन् भने सशस्त्र प्रहरी बलको अस्थायी बिटमा आगजनीसमेत गरेका छन् ।
घटना बिहीबार बिहान करिब १ बजे कोशी गाउँपालिका–१ मा भएको हो । तस्करी नियन्त्रणका लागि खटिएको सशस्त्र प्रहरी बलको टोलीले चलाएको गोली लागेर स्थानीय ४५ वर्षीय विजय साहको ज्यान गएको हो । साह भारतीय क्षेत्रबाट चिनी, सर्फ र सुर्ती लगायतका सामग्री लिएर घर फर्किंदै गर्दा घर नजिकै सशस्त्र प्रहरीले गोली चलाएको बताइएको छ । उनलाई दुई राउण्ड गोली लागेको थियो ।
साहको मृत्युको खबर फैलिनासाथ स्थानीय आक्रोशित बनेका छन् । उनीहरूले पूर्व–पश्चिम राजमार्गअन्तर्गत सुनसरीको लौकही खण्डमा शव नै सडकमा राखेर प्रदर्शन गरेका छन् । प्रदर्शनका कारण राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) चन्द्र खड्काका अनुसार स्थानीयको प्रदर्शनका कारण ठूला सवारी साधन चल्न सकेका छैनन् । हाल मोटरसाइकल मात्र आवत–जावत गरिरहेको छ भने मालवाहक र यात्रुवाहक सवारी साधनहरू रोकिएका छन् ।
घटनापछि बिहीबार बिहान प्रहरी र स्थानीयबीच वार्ता प्रयास गरिएको थियो । तर, वार्ताबाट सहमति जुट्न नसकेपछि प्रदर्शन जारी रहेको प्रहरीले जनाएको छ । स्थानीयवासीहरूले घटनामा संलग्न दोषीलाई तत्काल पहिचान गरी कडा कारबाही गर्न माग गर्दै आन्दोलन चर्काएका छन् ।
घटनास्थलमा थप सुरक्षाकर्मी परिचालन गरिएको छ । स्थिति नियन्त्रणमा ल्याउन सुरक्षा निकाय सक्रिय रहे पनि स्थानीयको आक्रोश कायमै रहेकाले क्षेत्र अझै तनावपूर्ण बनेको छ ।

