वीरगंज,०९ पुस । वीरगंज नाकाबाट चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा ७२ अर्ब २८ करोड रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ। उक्त अवधिमा पाँच प्रकारका पेट्रोलियम पदार्थको आयातबाट मात्र ३० अर्ब २५ करोड रुपैयाँ राजस्व संकलन भएको वीरगंजभन्सार कार्यालयले जनाएको छ।
भन्सार कार्यालयका सूचना अधिकृत उदयसिंह विष्टका अनुसार पेट्रोलियम पदार्थको आयात बढेसँगै राजस्व संकलनमा पनि उल्लेख्य वृद्धि भएको छ। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालु आवको पाँच महिनामा ६.४२ प्रतिशत अर्थात् १ अर्ब ८३ करोड रुपैयाँ बढी राजस्व संकलन भएको उनले बताए।
गत आर्थिक वर्षको पहिलो पाँच महिनामा भने ६९ अर्ब १५ करोड रुपैयाँ बराबरका पाँच प्रकारका पेट्रोलियम पदार्थ आयात भएका थिए।
चालु आवको पाँच महिनामा वीरगंजनाकाबाट ३५ अर्ब ३१ करोड रुपैयाँ बराबरको डिजेल आयात भएको छ। यस्तै, १७ करोड ३६ लाख रुपैयाँ बराबरको पेट्रोल, १२ अर्ब १७ करोड रुपैयाँको एलपी ग्यास आयात गरिएको छ।
त्यसैगरी, ७ अर्ब २५ करोड रुपैयाँ बराबरको हवाई इन्धन (एटीएफ) र १९ करोड रुपैयाँ बराबरको मट्टीतेल आयात भएको भन्सार कार्यालयले जनाएको छ।

