34 C
Birgunj
Date
शुक्र, बैशाख ४, २०८३
Fri, April 17, 2026
spot_img

ग्रामीण स्वास्थ्य सेवा मजबुत, लालपर्सामा बर्थिङ सेन्टर सञ्चालनमा

वीरगंज, ६ पुुस । वीरगंज महानगरपालिकाले महानगर क्षेत्रभित्रका ग्रामीण भेगका वडाहरूमा समेत गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच विस्तारलाई उच्च प्राथमिकतामा राख्दै विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । ग्रामीण क्षेत्रका बिरामी तथा सेवाग्राहीलाई सहज र प्रभावकारी सेवा उपलब्ध गराउने उद्देश्यले महानगरपालिकाले ती वडाहरूमा रहेका स्वास्थ्य चौकीहरूको भौतिक संरचना स्तरोन्नति, सेवा विस्तार तथा आवश्यक जनशक्ति व्यवस्थापन गर्दै आइरहेको छ ।

यसै क्रममा वीरगंज महानगरपालिका वडा नम्बर ३० अन्तर्गत लालपर्सास्थित स्वास्थ्य चौकीमा गर्भवती महिलाहरूका लागि २४ सै घण्टा सेवा प्रदान गर्ने उद्देश्यसहित आइतबारदेखि बर्थिङ सेन्टर सञ्चालनमा ल्याइएको छ । नवनिर्मित बर्थिङ सेन्टरको आइतबार एक कार्यक्रमबीच वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले उद्घाटन गरेसँगै अब लालपर्सा स्वास्थ्य चौकीबाट चौबीसै घण्टा प्रसूति सेवा उपलब्ध हुने भएको छ ।

वीरगंज महानगरपालिकाको जनस्वास्थ्य प्रवद्र्धन शाखाका प्रमुख राजु साहका अनुसार, लालपर्सा स्वास्थ्य चौकीकै भवनभित्र आइतबारदेखि निरन्तर सेवा उपलब्ध हुने गरी प्रसूति सेवा सञ्चालनमा ल्याइएको हो । यसले स्थानीय गर्भवती महिलाहरूलाई प्रसूति सेवाका लागि टाढा जानुपर्ने बाध्यताको अन्त्य गर्ने विश्वास लिइएको छ ।

बर्थिङ सेन्टर सञ्चालनका लागि आवश्यक जनशक्ति व्यवस्थापनसमेत गरिएको स्वास्थ्य चौकीका जनस्वास्थ्य निरीक्षक अनिशकान्त कुशवाहाले जानकारी दिए । उनका अनुसार, बर्थिङ सेन्टरलाई प्रभावकारी रूपमा सञ्चालन गर्न तालिमप्राप्त दुई जना थप अनमीसहितको जनशक्ति व्यवस्था गरिएको छ भने विगत दुई महिनादेखि जनस्वास्थ्य प्रयोगशालासमेत सञ्चालनमा रहेको छ ।

यसअघि महानगरपालिकाले ग्रामीण वडाहरूमा बर्थिङ सेन्टर सञ्चालन गर्ने कार्यलाई तीव्रता दिएको छ । गत शुक्रबार वडा नम्बर १८ भवानीपुरस्थित स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर सञ्चालनमा ल्याइएको थियो । त्यस्तै, वडा नम्बर २८ बगही तथा वडा नम्बर २१ लिपनीस्थित स्वास्थ्य चौकीहरूमा पनि यसअघि नै बर्थिङ सेन्टर सञ्चालनमा आइसकेको छ ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here