34 C
Birgunj
Date
शुक्र, बैशाख ४, २०८३
Fri, April 17, 2026
spot_img

हिन्दु पत्रकार सङ्घ पर्सा गठन, अध्यक्ष रौनियार उपाध्यक्ष पटेल

वीरगंज,०६ पुस । पर्सा जिल्लामा हिन्दु पत्रकारहरूको छुट्टै सङ्गठनका रूपमा हिन्दु पत्रकार सङ्घको जिल्ला कार्यसमिति गठन भएको छ ।

वीरगंजस्थित क्लासिक ब्यानक्वेटमा आइतबार आयोजित पत्रकारहरूको एक भेलाबाट सञ्चारकर्मी राजन रौनियारको अध्यक्षतामा जिल्ला कार्यसमिति गठन गरिएको हो । समितिको उपाध्यक्षमा विनोद पटेल र विमला गुप्ता, सचिवमा राजकुमार सर्राफ तथा कोषाध्यक्षमा आनन्द पटेल चयन भएका छन् ।

यस्तै, सदस्यहरूमा अभिलाष गुप्ता, अर्जुन चौधरी, अनिल ओझा, सन्तोष कुशवाहा, सञ्जय कुशवाहा, रवि बर्नवाल, राकेश साह, राजु बैठा, रश्मीराज भण्डारी, अजय चौरसिया र त्रिलोकी पटेल लगायतका पत्रकारहरू रहेका छन् ।

यसैबिच सङ्घले सल्लाहकार समिति पनि गठन गरेको छ । सल्लाहकार समितिमा निरञ्जन मिश्र, रितेश झा, आरोहण साह, सोनालाल चौरसिया, कन्हैया गुप्ता र सन्तोष साह रहेका छन् ।

हिन्दु धर्म, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्दै पत्रकारिताको माध्यमबाट हिन्दु समुदायका अधिकार र आवाजलाई सशक्त बनाउने उद्देश्यका साथ सङ्घ स्थापना गरिएको नवगठित समितिले जनाएकाे छ ।

धर्मनिरपेक्षताको नाममा हिन्दु धर्ममाथि हुने प्रहारको विरोध गर्दै सनातन मूल्य–मान्यताको रक्षा गर्नु सङ्घको प्रमुख लक्ष्य रहेको नवगठित समितिका पदाधिकारीहरूले बताएका छन् ।

भेलालाई सम्बोधन गर्दै नेपाल पत्रकार महासङ्घका केन्द्रीय सचिव अशोक तिवारीले सङ्घ गठनको स्वागत गर्दै यसले पत्रकारिताको विविधतालाई थप मजबुत बनाउने र सनातन मूल्यहरूको संरक्षणमा योगदान पुग्ने विश्वास व्यक्त गरे ।

पूर्व केन्द्रीय सचिव दीपेन्द्र चौहानले हिन्दु संस्कृतिको संरक्षणमा पत्रकारहरूको भूमिका महत्त्वपूर्ण हुने बताउँदै नवगठित सङ्घलाई शुभकामना दिए ।

नेपाल पत्रकार महासङ्घ मधेस प्रदेशका अध्यक्ष श्याम बन्जाराले सङ्घ गठनको पहलले मधेस क्षेत्रमा हिन्दु समुदायको आवाजलाई बलियो बनाउने विश्वास व्यक्त गरे भने महासंघ पर्सा शाखाका अध्यक्ष ओमप्रकाश खनालले यसले पत्रकारिताको क्षेत्रमा नयाँ आयाम थपिएको उल्लेख गरे ।

प्रेस चौतारी पर्साका अध्यक्ष निरञ्जन मिश्रले हिन्दु धर्ममाथि हुने आक्रमणहरूको विरुद्धमा सङ्घले प्रभावकारी भूमिका खेल्ने अपेक्षा व्यक्त गरे । कार्यक्रममा उपस्थित वरिष्ठ पत्रकार राम कुमार सर्राफ र नेपाल प्रेस युनियनका अजय साह लगायतका अतिथिहरूले पनि सङ्घको स्थापनालाई ऐतिहासिक कदम भन्दै पत्रकारहरूबीच एकता र हिन्दु धर्मको रक्षामा योगदान पुग्ने धारणा राखे ।

भेलामा सहभागी पत्रकारहरूले सङ्घले हिन्दु समुदायका मुद्दाहरूलाई राष्ट्रिय स्तरमा उठान गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे । नवनिर्वाचित अध्यक्ष राजन रौनियारले पत्रकारिताको मर्यादा कायम राख्दै हिन्दु धर्मको संरक्षणमा सक्रिय भूमिका खेल्ने प्रतिबद्धता जनाए ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here