बुटवल, ३ पुस । तुलसीपुर उच्च अदालतको बुटवल इजलासले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई धरौटीमा रिहा गर्ने आदेश दिएको छ । अदालतका मुख्य न्यायाधीश वासुदेव आचार्य र न्यायाधीश तेजनारायण पौडेलको संयुक्त इजलासले उक्त आदेश जारी गरेको हो ।
उच्च अदालतले लामिछानेलाई बिगो बराबरको धरौटीमा रिहा गर्न आदेश दिएको छ । आदेशअनुसार उनले २ करोड ७४ लाख ८४ हजार रुपैयाँ धरौटी बुझाउनुपर्नेछ । उक्त रकम अदालतमा बुझाएपछि उनी थुनामुक्त हुनेछन् ।
अदालतले यसअघि उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश बदर गर्दै धरौटीमा रिहा गर्नुपर्ने ठहर गरेको हो । उच्च अदालतले आदेशमा उल्लेख गरेअनुसार, लामिछानेलाई आफ्नो दायित्व बराबरको विगो राख्न तयार रहेको भनी निवेदनसमेत दिएको देखिएको आधारमा उनलाई थुनामा राखिरहनु आवश्यक नरहेको निष्कर्ष निकालेको हो ।
यस आदेशसँगै हाल नख्खु कारागारमा रहेका रवि लामिछाने धरौटी रकम बुझाएपछि रिहा हुने भएका छन् । उच्च अदालतको यो निर्णयपछि उनको कानुनी प्रक्रिया धरौटीको अवस्थामा अघि बढ्नेछ ।

