36.9 C
Birgunj
Date
बिहि, जेष्ठ १४, २०८३
Thu, May 28, 2026
spot_img

प्याब्सन पर्साद्वारा अन्तर–स्कुल आर्ट तथा ह्यान्डराइटिङ प्रतियोगिता आयोजना

वीरगंज,०३ पुस । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) पर्साले शुक्रबार अन्तर–स्कुल आर्ट तथा ह्यान्डराइटिङ प्रतियोगिता आयोजना गर्ने भएको छ । प्रतियोगितामा पर्सा जिल्लाका प्याब्सनसँग आबद्ध ३५ वटा विद्यालयका ४०० भन्दा बढी विद्यार्थीहरूको सहभागिता रहनेछ ।

प्याब्सन पर्साका सचिव अशोक सङ्ग्रौलाका अनुसार प्रतियोगिता वीरगञ्जस्थित राणीसती मन्दिर धर्मशालामा बिहान १० बजेदेखि सुरु हुनेछ । विद्यार्थीहरूमा कलात्मक सीपको विकास गर्दै राम्रो हस्तलेखनको महत्त्वबारे सचेत गराउन र प्रोत्साहन गर्न प्रतियोगिता आयोजना गरिएको उनले बताए ।

“आजको डिजिटल युगमा पनि राम्रो हस्तलेखनको आफ्नै महत्त्व छ । यसले विद्यार्थीहरूको एकाग्रता र रचनात्मकता बढाउँछ,” सचिव सङ्ग्रौलाले भने, “यो प्रतियोगिताले विद्यार्थीहरूमा लुकेको कलात्मक प्रतिभा प्रस्फुटन गर्न मद्दत गर्नेछ ।”

प्रतियोगिताको सम्पूर्ण व्यवस्थापनको जिम्मेवारी प्याब्सन पर्साका वरिष्ठ सदस्य तथा मुनलाइट स्कुलका संस्थापक सुशील केसीलाई दिइएको छ । केसीका अनुसार प्रतियोगिता समूहगत रूपमा सञ्चालन हुनेछ । आर्टतर्फ नर्सरीदेखि कक्षा १२ सम्मका विद्यार्थीहरूलाई ६ वटा समूहमा विभाजन गरी प्रतिस्पर्धा गराइनेछ भने ह्यान्डराइटिङतर्फ कक्षा १ देखि १० सम्मका विद्यार्थीहरूलाई ४ वटा समूहमा राखिएको छ ।

निष्पक्ष तथा तटस्थ मूल्यांकनका लागि काठमाडौँबाट विशेष निर्णायक मण्डल बोलाइएको आयोजकहरूले जानकारी दिएका छन् । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थी तथा समूहलाई मेडल, शिल्ड, प्रमाणपत्रलगायत आकर्षक पुरस्कार प्रदान गरिनेछ ।

यस प्रतियोगिताले पर्सा जिल्लाका निजी विद्यालयहरूबीच स्वस्थ प्रतिस्पर्धाको वातावरण सिर्जना गर्नुका साथै विद्यार्थीहरूको सर्वाङ्गीण विकासमा महत्वपूर्ण योगदान पुग्ने आयोजकहरूको विश्वास रहेको छ ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here