काठमाडौं,०९ असोज । मुलुकका विभिन्न ठाउँमा परेको वर्षाका कारण आएको बाढीपहिरोले देशका पाँच प्रमुख राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन् ।
प्रहरी प्रधान कार्यालयका अनुसार सङ्खुवासभाको भोटखोला गाउँपालिका–४ वरुण र मकालु गाउँपालिका–३ एकुवास्थित कोशी राजमार्ग दुुई स्थानमा पूर्ण अवरुद्ध भएको छ ।
त्यस्तै, रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२ मा पर्ने पासाङल्हामु राजमार्गस्थित नेपाल–चीन जोड्ने मितेरी पुल, चितवनको इच्छाकामना गाउँपालिका–५ मा पर्ने मुग्लिन–नारायणघाट सडकखण्ड र रुकुम पूर्वको भूमे गाउँपालिका–४ मा पर्ने मध्यपहाडी लोकमार्ग पनि पूर्ण रूपमा अवरुद्ध भएको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले जानकारी दिए ।
उनका अनुसार नवलपरासी पूर्वस्थित पूर्व–पश्चिम राजमार्ग, बाग्लुङस्थित कालिगण्डकी करिडोर र रसुवास्थित त्रिशुली–मैलुङ सडक भने एकतर्फी रूपमा सञ्चालनमा रहेका छन् ।

