30.2 C
Birgunj
Date
शुक्र, बैशाख ४, २०८३
Fri, April 17, 2026
spot_img

जेनजी आन्दोलन चेतना र सुधारको दिशानिर्देशक : प्रधानमन्त्री कार्की

काठमाडौँ,०३ असोज । प्रधानमन्त्री सुशीला कार्कीले संविधान दिवस तथा राष्ट्रिय दिवस–२०८२ को अवसरमा देशवासीलाई सम्बोधन गर्दै हालैको जेनजी युवाआन्दोलनलाई मुलुकमा बढ्दो भ्रष्टाचार र सुशासनको कमीप्रति युवापुस्ताको असन्तुष्टि तथा चेतनाको प्रतिविम्ब भएको बताउनु भएकाे छ ।

टुँडिखेलस्थित सैनिक मञ्चमा आयोजित मुख्य समारोहमा प्रधानमन्त्री कार्कीले संविधानको मर्मअनुरूप सुशासन, पारदर्शिता र विकासमा कमीकमजोरीका कारण युवापुस्तामा निराशा बढेको स्वीकार गर्दै सरकारलाई आलोचनाबाट सिकेर सुधार गर्ने अवसर प्राप्त भएको बताउनुभयो।

उहाँले भन्नुभयो, “लोकतन्त्र भनेको जनताको आवाज सुन्ने, संवाद गर्ने र समाधान खोज्ने प्रणाली हो। युवापुस्ताले उठाएका रोजगारी, पारदर्शिता, कानुनी समानता, भ्रष्टाचार अन्त्य, सुशासन र विकासजस्ता सवाल केवल युवाको मात्र नभई सम्पूर्ण राष्ट्रको साझा एजेन्डा हो।”

प्रधानमन्त्री कार्कीले पछिल्लो आन्दोलनबाट प्राप्त सन्देशअनुसार युवापुस्तालाई शासन प्रणालीमा सहभागी गराउने, उनीहरूको विचारलाई नीतिगत तहमा प्रतिविम्बित गराउने र सबै समुदायको भावना तथा अपेक्षालाई सम्बोधन गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

संविधान दिवसको अवसरमा उहाँले देशभरका युवापुस्ता, राजनीतिक दल, कर्मचारी, निजी क्षेत्र, विकास साझेदार र आमनागरिकलाई क्षतिको पुनःनिर्माण तथा विकासको महाअभियानमा सहभागी हुन आह्वान गर्नुभयो।

उहाँले २०६२/६३ सालको ऐतिहासिक जनआन्दोलनको जगमा बनेको संविधानलाई नेपाली जनताको भाग्य र भविष्यको मार्गदर्शक दस्तावेजको रूपमा व्याख्या गर्दै यसको कार्यान्वयनमा १० वर्षको यात्राले ल्याएका उपलब्धि र कमजोरीको गम्भीर समीक्षा गर्नुपर्नेमा जोड दिनुभयो।

प्रधानमन्त्री कार्कीले जेनजी आन्दोलनमा सहिद भएका व्यक्तिहरूलाई श्रद्धाञ्जलि अर्पण गर्दै घाइतेहरूको स्वास्थ्यलाभको कामना गर्नुभयो। साथै आन्दोलनका क्रममा सार्वजनिक र निजी सम्पत्तिमा पुगेको क्षतिप्रति दुःख व्यक्त गर्दै निजी क्षेत्रको मनोबल उच्च राख्न र तोकिएको समयमै निर्वाचन सम्पन्न गर्न आवश्यक रहेको बताउनुभयो।

समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलगायत उच्च पदाधिकारी र विदेशी नियोगका प्रमुखहरू उपस्थित हुनुहुन्थ्यो।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here