विशेष सूचनाको आधारमा प्रहरीले सोमबार दिउँसो बीरगन्ज महानगरपालिका–१३ स्थित तराई अस्पताल अगाडिको सडक खण्डबाट बीआर १ एपी ५२९१ नम्बरको भारतीय एम्बुलेन्स नियन्त्रणमा लिएको प्रहरी प्रवक्ता डीएसपी कुमारविक्रम थापाले जनाए ।
डीएसपी थापाका अनुसार भन्सार राजस्व छली उक्त नम्बरको एम्बुलेन्स जिल्लाको ग्रामीण क्षेत्र तथा महानगरपालिकामा अनधिकृत रूपमा सञ्चालन हुँदै आएको थियो । भारतीय बोलेरो मोडेलको एम्बुलेन्समा स्कारपियो गाडीको पार्ट्स लगाएर स्वरूप समेत परिवर्तन गरिएको उनले खुलाए ।
एम्बुलेन्स चालक भारत बिहारको पूर्वी चम्पारण पलनवा निवासी ३० वर्षीय महमद नेजामुदिनलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । थप अनुसन्धान र कारबाहीका लागि चालक र एम्बुलेन्सलाई बीरगन्ज भन्सार कार्यालय बुझाएको डीएसपी थापाले जनाएका छन् ।