जनकपुर धनुषा, १५ वैशाख । संघीय प्रहरी कार्यालय जनकपुरमा कार्यरत एक सई, जो रकम असुल्नमा माहिर छन् उनको असुली धन्दाको घटना सार्वजनिक भएको छ । बारा जिल्ला स्थायी घर भई जनकपुरमा विगत लामो समयदेखि कार्यरत रहेका सई जयलाल प्रसाद यादव प्रहरी संगठनभित्रै आफ्नो दर्जाको स्तरमा सबैभन्दा बढि रकम असुल्ने सईको रुपमा चिनिन्छन् । उनलाई तस्कर, व्यापारी, जुवा खाल चलाउने, हुण्डी कारोबारीसँग सेटिङ्ग गर्न गराउन विगत २० वर्षभन्दा बढिको अनुभव छ । आफ्नो दर्जाको स्तरबाट पैसा असुल्न सम्भव नभएपछि संघीय प्रहरी कार्यालयमा लामो समयदेखि कार्यरत रहेर उपल्लो हाकिम डिआईजिको नामबाट रकम असुल्दै आएका छन् ।
विगत २५ वर्ष अघि सिपाहीमा भर्ना भएका यादव आफ्नो जागिरको करियरमा सबैभन्दा बढि समय जनकपुरमै विताएका छन् । प्रहरी श्रोतका अनुसार २५ वर्षको जागिर अवधिमा उनी जनकपुरमा १५ वर्ष काम गरेका छन् र अहिले पनि जनकरमै कार्यरत छन् । सिपाही हुँदा जनकपुरमा, हवल्दार हुँदा पनि जनकपुरमा, असई हुँदा पनि जकपुरमा र सई हुँदा पनि जनकपुरमा काम गरेका छन् । त्यसैले जनकपुरका तस्कर, ठूलठूला व्यापारी, हुण्डी कारोबारी, जुवाडे सबैसँग उनको राम्रो पकड छ । अहिले संघीय प्रहरी कार्यालयका घुमुवाको रुपमा कार्यरत रहेका सई आफ्नो पकड प्रदेशभरिमै बनाएका छन् ।
आफू डिआईजिको घुमुवा रहेको भन्दै जनकपुर, महोत्तरी, सर्लाही, सिरहा सहित प्रदेशभरिकै हुण्डी कारोबारी, तस्कर, व्यापारी एवं जुवाको खाल चलाउनेहरुसँग सेटिङ्ग गराई हाकिमको नाममा असुली गर्नै आएका छन् । उनी संघीय प्रहरी कार्यालयमा कार्यरत रहेपनि जिल्ला र प्रदेशको लागि रकम असुल्ने काम गर्दै आएको बताइएको छ । धनुषाका हुण्डी कारोबारी मनोज साह, सिरहाका अख्तर अलि, महोत्तरीका दिलिप कणर्, सर्लाहीका सन्तोष साहको सेटिङ्ग सई यादले नै गराएका छन् । उनले प्रदेश प्रहरी प्रमुख डिआईजिको घुमुवा रहेकोले डिआईजी र एसएसपीको सेटिङ्ग आफूले गराईदिने भन्दै यि हुण्डी कारोबारीसँग महिनावारी रकम असुल्दै आएका छन् ।
धनुषाको तारापट्टि निवासी किशोरी साहले मधेश प्रदेशभरि हुने जुवा खालको जिम्मा लिएका छन् भने किशोरीसँग जुवा खेलाए वापत सई यादवले मासिक डिआईजीको नामबाट २ लाख, एसएसपीको नामबाट १ लाख तथा आफै १ लाख असुल्ने गरेको प्रहरी श्रोतले बताएको छ । सई यादवले डिआईजी र एसएसपीको नामबाट पैसा असुलेपनि डिआईजीलाई भने पैसा दिने गरेका छैनन् । हाकिमको नामभजाएर पैसा असुल्ने त्यसबाट केही भाग एसएसपीलाई दिने गरेको बाँकी डिआईजीको भाग आफै कुम्ल्याउने गरेको बताइएको छ । जुवा खेलाइने जिल्लामा जुवाका साहुले आफै आफ्नो जिल्लाका एसपीलाई सेटिङ्ग गर्नुपर्ने हुन्छ भने डिआईजि र एसएसपीको सेटिङ्ग सई यादवले गर्ने गरेको बताइएको छ ।रौतहट जिल्लाको चन्द्रनिगाहपुर क्षेत्रमा पर्ने नुनथर भन्ने ठाउँमा किशोरी भन्ने व्यक्तिले अहिले जुवाको ठुलो खाल संचालन गर्दै आएका छन् । त्यसको संरक्षण गर्ने र प्रहरीका उपल्लो हाकिमसँग सेटिङ्ग गरि लाइन मिलाउने काम सई यादवले गरेको बताइएको छ । त्यति मात्रै कहाँ हो ? जनकपुरका धनाड्य व्यापारी सुरेश साह, ‘चाची’ भन्ने राजिव महासेठ जस्ता ठूलठूला व्यापारीसँग उनको अवैध कार्यको संरक्षण गर्नका लागि सई यादवले मासिक ५ लाख रुपैयाको दरले असुल्ने गरेको बताइएको छ । यति मात्रै कहाँ हो ? सर्वेन्द्र खनाल आईजिपि हुँदा उत्तम सुवेदी एसपी हुँदा आईजिपि र एसपी, एसएसपीको नामबाट पनि पैसा असुल्ने काम गर्दै आएका थिए । त्यति मात्र नभई उनी जिल्लाका सशस्त्रका एसपीको नामबाट पनि असुल्न भ्याएको बताइएको छ ।सई यादवको पनि आफ्नै साम्राज्य छ । बारा जिल्लामा स्थायी घर भएपनि उनी जनकपुर विश्वकर्मा चौक माछा बजार स्थित १ कठ्ठा जग्गामा आलिशान भवन बनाएका छन् । एउटा नेपाली तथा एउटा भारतीय गरि दुईवटा श्रीमतीलाई जनकपुर स्थित आफ्नो आलिशान भवनमा राख्ने गरेका छन् । सई दर्जाका प्रहरी कर्मचारीको मासिक तलब मासिक ३० देखि ३२ हजार हो तर यस्ता असुलीका माहिर प्रहरी कर्मचारीहरुले मासिक ३ देखि ५ लाखसम्म असुल्दै आएका छन् । यसको खोजविन कोही कतै छैन । न व्यापार छ, न बढि कमाई छ तर सम्पत्ति माथि सम्पत्ति कसरी जोडिदैछ ? यसबारे प्रहरी संगठनसँग पनि चित्त बुझ्दो जवाफ छैन । नेपाल प्रहरी संगठनले सम्पूणर् प्रहरीको सम्पत्ति विवरण प्रत्येक वर्ष लिने गरेको छ तर वर्षो पिच्छे दिन गुणा, रात चौगुना सम्पत्ति जाड्ने यस्ता प्रहरी कर्मचारीहरु आफ्नो संगठनको आँखामा धुलो झोक्न कसरी सफल हुँदैनछन् त ?