वीरगंज पर्सा ७ असोज । बीरगंजका एक बैंकका म्यानेजरले माग अनुसार दाईजो नपाएको कारण श्रीमतिको हत्या गरेको आरोप माईती पक्षले लगाएका छन ।
आज वीरगंजमा पत्रकार सम्मेलनको आयोजना गरी मृतक पिंकी कुर्मीकी दिदी सपना कुर्मीले आफनी बहिनीलाई बिहेमा गाडी दाईजोमा नदिएको भन्दै बारा स्थित कलैया उपमहानगरपालिका वडा नम्बर १ निवासी मुरारी राउत कुर्मीका छोरा वीरगंजको श्रीपुर स्थित नेपाल एसबीआई बैंकका शाखा प्रबन्धक दिपेन्द्र प्रसाद जैसवारले परिवारसंग मिलेर हत्या गरेको आरोप लगाउनु भएको छ । उहाँले १२ वर्ष अघि बहिनी पिंकीको बिहेमा ससुराली पक्षले माग गरे अनुसार ४० लाख रुपैया, १० तोला सुन, कपडालत्ताहरु दिईजो दिदा समेत उनीहरुले गाडीको माग गरेको र माईती पक्षले गाडी नदिदा पिंकीले घरेलु हिंसा भोग्दै आएको सपना कुर्मीले बताउनु भयो ।
उहाँले लामो समयदेखि बहिनीमाथि भएको घरेलु हिंसाको विरुद्धमा आफूहरु प्रशासनमा जाँदा राजनीति दलहरुका ठूल्ठूला नेताहरुको दबाबमा मिलापत्र गराउन लागएको आरोप समेत लगाउनु भयो । पछिल्लो पटक गत भदौ २७ गते श्रीमान तथा परिवारको कुटाईबाट गम्भिर घाइते भएकी पिंकीको वीरगंजस्थित एडभान्स मेडिकेयर अस्पतालमा भर्ना गरिएको र त्यहाँ उनको उपचार सम्भव नभएपछि थप उपचारका लागि २८ गते चितवन मेडिकल कलेज लगिएको थियो ।
टाउकोमा गम्भीर चोट लागेको कारण उनको चितवनमा टाउकोको शल्यक्रिया गरिएको थियो । पिंकीको स्वास्थ्य जटिल भएपछि उनलाई थप उपचारका लागि काठमाण्डौस्थित मेडिसिटी अस्पताल पुर्याईएको थियो । उनको उपचारको क्रममा असोज २ गते मृत्यु भएको थियो । अस्पतालबाट प्राप्त पोष्र्टमार्टम रिर्पाेट अनुसार उनलाई शरिरभरी चोटपटक लागेको र टाउकोमा लागेको चोटको कारण मृत्यु भएको मृतकका भाइ मनिष कुर्मीले बताउनुभयो ।
यसैविच वारा प्रहरीले हत्या आरोपमा अनुसन्धानका लागि मृतकका श्रीमानलाई नियन्त्रणमा लिएको छ । पिडित पक्षले गत असोज ४ गते महिलाको हत्या आरोपमा काका ससुरा जगत प्राद जैसवार, ससुरा मुरारी राउत जैसवार, सासु मन्तुरा राउत जैसवार, पति दिपेन्द्र प्रसाद जैसवार विरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गराएको थियो । जिल्ला प्रहरी कार्यलय बाराका प्रहरी उपरीक्षक होबीन्द्र बोगटीले घटनाको विषयमा थप अनुसन्धान भईरहेको बताउनुभयो ।