वीरगञ्ज, १८ अषाढ ।
पर्सा जिल्लाको दोस्रो सदरमुकाम पोखरिया नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधी र क्रियाशिल युवा पत्रकार मञ्च नेपाल पर्साबिच आपसी सहकार्य सम्बन्धमा छलफल भएको छ । क्रियाशिल युवा पत्रकार मञ्च पर्साले आयोजना गरेको भेटघाट तथा परिचयात्मक कार्यक्रमका अवसरमा जनप्रतिनिधी र पत्रकारको समन्वय र सहकार्यका बारेमा छलफल भएको हो ।
मञ्चका अध्यक्ष प्रणय कुमार साहको अध्यक्षतामा भएको भेटघाट तथा परिचयात्मक कार्यक्रमका अवसरमा नगरपालिकाका प्रमुख प्रधुमन चौहान, उपप्रमुख रुबी कुमारी ठाकुरसहित १० वटै वडाका वडाअध्यक्षहरुलाई खादा र बधाई पत्रका साथ सम्मान गरिएको मञ्चका उपाध्यक्ष आनन्द पटेलले जानकारी दिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख चौहानले राष्ट्रको चौथो अंग मानिएका पत्रकारले समाजका बिकृति एवम् बिसंगतीको बिरुद्धमा कलम चलाउनुपर्ने बताए । हालसम्म भएका विभिन्न व्यवस्था तथा अवस्था परिवर्तनमा पनि पत्रकारको महत्वपूर्ण भूमिका रहेको स्मरण गर्दै चौहानले क्रियाशिल युवा पत्रकार मञ्चलाई पनि नामजस्तै क्रियाशिल रहन सुझाव दिएका छन् ।
क्रियाशिल युवा पत्रकार मञ्चले गरेको सम्मानले समाजप्रतिको जिम्मेवारी थप भएको बताउँदै उनले मञ्चसँग मिलेर सामाजिक काममा सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन् । सोही क्रममा प्रमुख चौहानले पोखरिया नगरपालिकालाई राजनीतिक एवम् आर्थिक रुपमा दलहरुले उपेक्षा गर्दै आएको आरोप लगाए । पोखरिया नगरपालिकाभित्रका सम्भावनाहरुलाई कलममार्फत उर्जागर गर्न पनि उनले आग्रह गरेका छन् ।
मञ्चका उपाध्यक्ष पटेलका अनुसार भेटघाट तथा परिचयात्मक कार्यक्रममा मञ्चका सचिव अरविन्द पटेल, कोषाध्यक्ष उपेन्द्र बरै, सदस्यहरुमा आदित्य कुमार शर्मा, सुनिल कुमार ओझा, ओमप्रकाश सर्राफ, कन्हैयालाल बर्णवाल लगायतको उपस्थिती रहेको थियो ।