काठमाडौं: नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले वर्तमान सत्ता गठबन्धन कुनै पनि हालतमा भत्किनुपर्ने बताएका छन् । वर्तमान गठबन्धनको आधारमा अनैतिक प्रक्रियाबाट सरकार गठबन्धन भएकाले भत्किनुपर्ने उपाध्यक्ष नेम्वाङको धारणा रहेको छ ।
सम्मेलनलाई सम्बोधन गर्दै उपाध्यक्ष नेम्वाङले भने– ‘वर्तमान सरकारको आधार तपाईहरुलाई थाहै होला । यो अनैतिक रुपमा परमादेशबाट बनेको छ । यसको आधार वर्तमान दुषित गठबन्धन हो । त्यसैले यो गठबन्धन भत्किनुको विकल्प छैन । हामी जस्तोसुकै अवस्थामा पनि गठबन्धन भत्काएर छोड्छौ ।’शनिबार काठमाडौंमा नेकपा एमाले संवद्ध कानुन व्यवसायीको सम्मेलनलाई सम्बोधन गर्दै दुषित गठबन्धनका कारण देशमा थप अनैतिक र असंवैधानिक गतिविधि बढ्ने भएकाले भत्काउनुपर्ने नेम्वाङको तर्क रहेको छ ।
उपाध्यक्ष नेम्वाङले एमालेको मुख्य उद्देश्य गठबन्धन भत्काउने भएपनि सरकारका जानका लागि गठबन्धन भत्काउने पक्षमा नरहेको धारणा राखे । उनले भने– ‘अहिलेको हाम्रो एकमात्र लक्ष्य वर्तमान सत्ता गठबन्धन भत्काउनु हो । यसको मतलव यो होइन कि हामी सरकारमा जान गठबन्धन भत्काउँदै छौँ । हामी स्पष्ट छौं । वर्तमान जनमतको अर्थ छैन । त्यसैले यसै जनमतमा हामी सरकारमा जाँदैनौं । हामीले भन्दै आएको के हो भने हामी नयाँ जनमत चाहन्छौं । नयाँ जनमतका लागि हामी तयार छौं । नयाँ जनमतको वातावरण बनाउनका लागि भए पनि वर्तमान गठबन्धन भत्किनु आवश्यक छ ।’
उपाध्यक्ष नेम्वाङले नेकपा एमाले आफ्नो मागहरु पूरा नभएसम्म एमसीसीको पक्ष वा विपक्षमा निर्णय गर्ने अवस्थामा नरहेको समेत बताए । आफ्नो पार्टीले कारबाही गरेको १४ जना सासंदलाई कारबाही वा सभामुखको बर्हिगमन नभएसम्म कुनैपनि संसदीय प्रकृयामा सामेल नहुने नेम्वाङको भनाइ छ ।