बीरगंज, २७ माघ ।
वीरगञ्जमा मौलाउँदो बेथिति, भ्रष्टाचार, र अजराजकता हटाउने अठोटका साथ कांग्रेस पर्सा सम्बद्ध युवाहरुले सांकेतिक विरोध कार्यक्रम आज गहवा माईलाई गुहारेका छन् ।
नेपाली कांग्रेस सम्बद्ध युवाहरुको तर्फ बाट बीरगंजका प्रसिद्ध तथा एतिहासिक गहवामाई मंदिरलाई एक गुहार पत्र चढाउदै एतिहासिक नगर बीरगंजलाई हालको नगर नेतृत्वले तहस नहस गरेको आरोप लगाएका छन् ।
वीरगञ्जको उत्थान गर्ने र वैभव फर्काउने दृढ संकल्प बोकेको क्षमतावान व्यक्ति अहिलेसम्म बीरगंजले भेट्न नसकेका कारण वीरगञ्जका यावत समस्याहरू यथावत रहेको र कुनै उपाय नलागेपछि हामी युवाहरू आज वीरगञ्जवासीको आस्था र विश्वासको केन्द्र गहवा माईको द्वारमा बडो विश्वासका साथ पुगेको सहभागी युवाहरुले बताएका छन् ।
आफ्नो (वीरगञ्जको) वजूद जोगाइराख्न र यहाँको वैभव फर्काउँदै समृद्धितर्फ अघि बढाउन आशीर्वाद प्रदान गर्नुहोस् भन्ने एक सुत्रीय माग राख्दै गहवा माईलाई गुहारेको गुहार पत्रमा उल्लेख गरिएको छ ।
नेपाली कांग्रेस पर्साका युवा नेता कञ्चन झाको अगुवाईमा भएको यो कार्यक्रम नेपाली कांग्रेस क्षेत्र नं २ का सभापति म. सहाबुद्दीनको प्रमुख आतिथ्यतामा भएको हो। ‘गुहार पत्र’ बुझाउनुअघि घण्टाघरबाट गहवा माई मन्दिर परिसरसम्म र्याली निकालिएको थियो ।
‘गुहार पत्र’ बुझाउनुअघि आयोजित कोणसभालाई सम्बोधन गर्दै कांग्रेसका नेता झाले ‘भगवान भरोसे’ चलिरहेको वीरगञ्ज सहरको भलो होस् भनेर नगरकी देवी गहवा माईलाई गुहार पत्र बुझाएको बताउनुभयो। देशको ठुल्ठुला परिवर्तनमा योगदान दिएको भोजपुरिया रानी सहर वीरगञ्जको गर्विलो ईतिहास हुँदाहुँदै पनि पछिल्ला केही समयदेखि सहर अन्योलता र शुन्यतातर्फ भासिँदै गएको झाको भनाई थियो। झाले भन्नुभयो,“गर्विलो ईतिहास र विकासको सम्भावना हुँदाहुँदै पनि वीरगञ्ज पछि परेको छ। वीरगञ्जमा न्यूतम सुविधाकै अभाव छ। यहाँको विकासका लागि सबै मिलेर अघि बढ्नुपर्ने अवस्था आइसकेको छ। यसका लागि हामीसँग भएको संरचना, श्रम, एकता र सद्भावका साथ वीरगञ्ज बनाउ महाअभियान सञ्चालन गरौं।”
कार्यक्रममा नेपाली कांग्रेस क्षेत्र नं २ का सभापति म.सहाबुद्दीनले जनप्रतिनिधिहरुको लापरवाह चरित्रका कारण सहरको स्वरुप परिवर्तन हुन नसकेको जिकिर गर्नुभयो। महानगरको विकासका लागि पटकपटक ध्यानाकर्षण गराउँदा समेत कुनै परिणाम नआएपछि आज सांकेतिकरुपमा भगवान गुहार्न आईपुगेको उहाँको भनाई थियो। सहरको गरिमालाई कायम राख्न युवाहरुको सक्रियता आवश्यक रहेको भन्दै सहाबुद्दीनले वीरगञ्ज बनाउ महाअभियानमा सबैको सहभागिताका लागि आह्वान गर्नुभयो।
कार्यक्रममा वीरगञ्ज महानगरपालिका वडा नं १४ का नेपाली कांग्रेस बुथ सभापति विशेश्वर पटेल, ठाकुरराम क्याम्पसका प्राध्यापक डा. हरेराम ठाकुर, नेपाली कांग्रेस वडा नं ४ का सचिव बिरेन्द्र गुप्तालगायतका कांग्रेस युवाहरुको उपस्थिति थियो। कार्यक्रमको सहजीकरण युवा नेता रामनिवास यादवले गर्नुभएको थियो।