अजित कुमर भुजेल
बिरगंज , असार १३ गते आइतबार ।
लायन्स क्लब अफ वीरगंज ग्रीन क्याम्पस, सेन्ट्रल सिटी, जय गहवामाई र इनिसिएटिभको लायन वर्ष २०२१-२२ का लागि निर्वाचित कार्यसमितिका पदाधिकारीहरुको संयुक्त रुपमा पद हस्तान्तरण आज एक कार्यक्रमकाबीच वीरगंजको दियालो लर्ड्स प्लाजा होटलमा सम्पन्न भएको छ ।
विश्व महामारीको रुपमा रहेको कोरोना भाइरसको संक्रमणलाई ध्यानमा राख्दै स्वास्थ्य मापदण्डको पुर्ण रुपमा पालना गर्दै पद हस्तान्तरण कार्यक्रम सम्पन्न गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि लायन्स क्लब ईन्टरनेशनलका पास्ट मल्टिपल काउन्सिल चेयरपर्सन लायन रमेश अग्रवालले नवनिर्वाचित कार्यसमितिका पदाधिकारीहरुलाई माला, अबिर र लायन्स क्लबको पिन लगाई आउने कार्यकालका लागि बधाई दिँदै कार्यकाल सफलताको शुभकामना दिनु भएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि अग्रवालले कोरोना भाइरसको तेश्रो लहरलाई मध्यनजर गर्दै लायन्स क्लबद्वारा छिट्टै नारायणी अस्पताल वीरगंजलाई ४५ लाख बराबरको मेडिकल उपकरण सहयोग गरिने बताउनु भयो ।
त्यसैगरि श्रीपुर मा.वि. वीरगंजमा अडिटोरियम निर्माण एवं वीरगंज महानगरपालिकासँग समन्वय गरि वीरगंजको काली मन्दिर अगाडी रहेको चिल्ड्रेन्स पार्कलाई लायन्स क्लबको संरक्षणमा रहने गरि मधुमेहका बिरामीहरुको लागि अत्याधुनिक सुविधा सम्पन्न व्यायाम केन्द्र संचालन गरिने समेत बताउनु भयो ।
कार्यक्रमका विशिष्ट अतिथि लायन्स क्लबका डिष्ट्रीक्ट कोर्डिनेटर लायन देव चौधरी, डिष्ट्रीक्ट डेपुटी ट्रेजर लायन उमेश साह कानु, डिष्ट्रीक्ट डेपुटी कोर्डिनेटर लायन आकाश सर्राफ, एरिया नम्बर २ का नोमिनेटेड एरिया चिफ लायन बासु तिमिल्सिनाले ग्रीन क्याम्पस, सेन्ट्रल सिटी, जय गहवामाई र इनिसिएटिभद्वारा लायन वर्ष २०२०-२१ मा गरिएका सामाजिक गतिविधिहरुको बारेमा चर्चा गर्दै नवनिर्वाचित कार्यसमितिका पदाधिकारीहरुलाई आउने कार्यकालकालागि बधाई दिँदै कार्यकाल सफलताको शुभकामना दिनु भएको थियो ।
लायन्स क्लब अफ वीरगंज सेन्ट्रल सिटीकी अध्यक्ष लायन आश्मा सिंह यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ग्रीन क्याम्पसको तर्फबाट लायन वर्ष २०२१- २२ कालागि निर्वाचित अध्यक्ष लायन किरण अग्रवाल, सेन्ट्रल सिटीको तर्फबाट अध्यक्ष लायन मिना देवी टिबडेवाल, जय गहवामाईको तर्फबाट अध्यक्ष लायन साजन साह कानु, इनिसिएटिभको तर्फबाट अध्यक्ष लायन आशिष सुरेकालाई नयाँ कार्यकालको लागि बधाई सहित पद हस्तान्तरण गरिएको थियो ।
कार्यक्रममा लायन वर्ष २०२०- २१ को डिष्ट्रीक्ट डिपार्टमेन्ट चिफ लायन विजया आझैया, जोन चेयरपर्सन लायन गुड्डी जोशी, जय गहवामाईकी अध्यक्ष लायन निला राम,ग्रीन क्याम्पसका सचिव धिरज गुप्ता लगायत लायन्स क्लबका अन्य पदाधिकारी एवं सदस्यहरुको उल्लेख्य सहभागिता रहेको थियो ।