अजित कुमार भुजेल
बिरगंज , जेष्ठ ३० गते आइतबार ।
विद्यार्थीहरुको हकहित संरक्षणका लागि गठन भएको संयुक्त विद्यार्थी समितिले नयाँ शैक्षिक सत्रमा बीरगन्ज महानगरभित्रका विद्यालयहरुलाई
एक रुपैँयामा पनि शुल्क नबढाउन चेतावनी दिएका छन् ।
कोरोनाभाइरस संक्रमणको दोस्रो लहरका कारण आह्वान गरिएको निषेधाज्ञाले अभिभावकहरुको आर्थिक अवस्था नराम्ररी प्रभावित भएको भन्दै समितिले शुल्क वृद्धि गरि अभिभावकहरुलाई अनावश्यक तनाव दिन नहुने बताएका हुन् ।
आईतबार बीरगन्ज महानगरपालिकाको शैक्षिक महाशाखा प्रमुख अरविन्द लाल कर्ण र संघर्ष समिति बीच भएको बैठकमा विद्यार्थी नेताहरुले यस्तो अडान राखेको जनाइएको छ । विद्यालय सञ्चालनको ठोस रणनिती नबनाई विद्यालय सञ्चालन नगर्न समितिले माग गरेको हो । कोभिड विरुद्धको स्वास्थ्य सावधानीको मापदण्ड र महानगरले अनुगमन समिति गठन नगरेसम्म विद्यालय सञ्चालन गर्न नहुने समितिको भनाई छ । सम्बन्धीत सबै सरोकारवालाहरुसँग छलफल गर्दै स्वास्थ्य सुरक्षाको प्रत्याभुति नगरि विद्यालय सञ्चालन भएको भेटिए तालाबन्दीसम्म गर्नसक्ने समितिले चेतावनी पनि दिएको हो ।
महामारीका कारण शिक्षा क्षेत्रमा परेको प्रभावलाई न्युनिकरण गर्न शूल्क बढाउने, पाठ्यपुस्तक थप्ने तथा परिवर्तन गर्ने, विद्यालयको पोशाक परिवर्तन गर्ने जस्ता लगायतका कार्यहरु नगर्न ध्यानाकर्षण गराउँदै विद्यार्थी तथा विद्यालय सम्बन्धी निर्णय गर्दा विद्यार्थी संगठनलाई पनि अनिवार्य रुपमा उपस्थिती गराउन समितिले आग्रह गरेको संघर्ष समितिका संघर्ष समितिका हेमन्त तामाङले बताए ।
शैक्षिक महाशाखा प्रमुख अरविन्दलाल कर्णले समितिले उठाएको विषयहरुबा बारेमा महानगर सचेत रहेको जानकारी गराउँदै विद्यालय सञ्चालनको ठोस खाका बनाउने आश्वासन दिएका छन् । उनले अनुगमन समिति बनाउने र मापदण्ड निर्माणका लागि छिटै छलफल गरी सूचना निकालिने बताए ।
बैठकमा संघर्ष समितिका अध्यक्ष विकास तिवारी, सदस्य रेयाज अन्सारी, शेष हजरा, फिरोज बादशाह, एजाजबाबु राकी, मनोज साह, अभय कर्ण, हरिन्द्र साह, आशिफ अहमद, सल्लाहाकार समितिका अध्यक्ष सुजित गिरी, पूर्व विद्यार्थी नेता शिवजी गुप्ता लगायतको सहभागिता रहेको सल्लाहाकार समितिका सदस्य एवम् अनेरास्ववियुका केन्द्रिय सदस्य तामाङले जानकारी दिए ।