कागज उद्योगमा एक भारतीय मजदूरको मृत्यु

0
56

वीरगंज पर्सा, २७ वैशाख । वीरगञ्जको कागज उद्योगमा कार्यरत एक मजदुरको मृत्यु भएको छ ।उद्योगले सुरक्षा सावधानी नअपनाउँदा मजदुरको मृत्युभएको पीडित पक्षको आरोप छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर ३२ स्थित दुर्गा पल्स प्रा.लि. कागज कारखानामा कार्यरत भारतीय मजदुरको मृत्यु भएको हो । उद्योगमा काम गरिरहेको बेला माथिबाट कागजको बण्डल खसेर उनको मृत्यू भएको जनाइएको छ ।

भारत उत्तर प्रदेश सिद्धार्थ नगर निवासी ३५ वर्षीय रबिन्द्र रस्तोलीको बन्डल खसेको चोटबाट टाउको, मुख, नाक लगायतका शरीरका अंगहरुमा गम्भीर चोट लागेको थियो । उपचारका लागि वीरगञ्जको गण्डक स्थित नेपाल मेडिसिटी वयोद्या अस्पतालमा लैँजादा चिकित्सकले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक निर्मल बुढाथोकीले जानकारी दिए । प्रहरी नायब उपरीक्षक बुढाथोकीकाअनुसार शवलाई पोस्टमार्टमका लागि नारायणी अस्पतालमा पठाइएको छ । घटनाको बारेमा आवश्यक अनुसन्धान भइरहेको डिएसपी बुढाथोकीले बताए ।

श्रम तथा रोजगार कार्यालय पर्साका प्रमुख कृष्ण कुमार यादवकाअनुसार उद्योगले श्रमिकको अनिवार्य रुपमा जीवन बिमा गर्नुपर्ने बताए । मृतकका आफन्तले उजुरी दिएपछि बिमा नगरेको भए पनि श्रमिक ऐनमा उल्लेख भए बमोजिम कारवाही र क्षतीपूर्तिको व्यवस्था मिलाउन सकिने प्रमुख यादवको भनाई छ । कार्यालयका सूचना अधिकारी सुन्दर श्रेष्ठले उद्योगमा श्रमिकलाई सुरक्षित तरिकाले काम गर्ने व्यवस्था मिलाउनुपर्ने बताए ।

कागज कारखानामा कागजको बण्डल झर्दा चोट लागेर मृत्यु हुनुपर्ने अवस्था आउनु उद्योगमा असुरक्षित ढंगले श्रमिकले काम गरीरहेको स्पष्ट हुने श्रेष्ठले बताए । उद्योगका सञ्चालक रोहित अग्रवाल मृतक मजदुरको ऐनबमोजिम क्षतिपूर्ति उपलब्ध गराउने बताउँछन् । उनले भने, ‘हामी श्रमिकलाई मारेर उद्योग चलाउँदैनौँ, अचानक भएको घटनालाई हामीले रोक्न सकेनौँ । हामीसँग भएको नियुक्ती पत्र र बिमाबमोजिम आवश्यक क्षतिपूर्ति उहाँका परिवारलाई उपलब्ध गराउँछौ ।’

त्यही ठाउँमा पाँच वर्षदेखि काम गर्दा केही नहुने र आज अचानक भएको घटनाले उद्योगमा असुरक्षित तरिकाले काम भएको भन्न नमिल्ने सञ्चालक अग्रवालको तर्क छ । उनी भन्छन्, ‘त्यही ठाउँमा पाँच वर्षदेखि काम गर्दा केही भएको थिएन, अहिले अचानक भएको घटनाकै कारण असुरक्षित भन्न मिल्दैन ।’ दुर्गा पल्स प्रा.लि. पटकपटक विवादमा मुछिँदै आएको छ । यसअघि यही उद्योगले नै प्रशोधन नै नगरी प्रदूषित पानी र छाइँ फाल्दा सोही छाइँका कारण ४ जनाको खुट्टा जलेको थियो । साथै २ वटा सुंगुर र २ वटा कुकुरसमेत जलेर मरेका थिए ।

यसका अलावा सिर्सिया नदिलाई प्रदूषित बनाउन पनि यही उद्योगको महत्वपूर्ण हात छ । वीरगञ्ज महानगरले पटक पटक आग्रह गर्दा पनि उद्योगले प्रशोधन बिना नै उद्योगको दूषित पानी सोझै नदिमा मिसाउँदै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here