आपराधिक चरित्रका सीके राउत बाह्य शक्तिकेन्द्रबाट परिचालित छन् : उपेन्द्र यादव

0
46

कलैया (बारा), ४ वैशाख । जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादवले जनमत पार्टीका अध्यक्ष सीके राउतको चरित्र आपराधिक प्रवित्तिको भएको र उनी देश बाहिरका शक्तिकेन्द्रबाट परिचालित भएको आरोप लगाएका छन् । बारा-२ को प्रतिनिधिसभा सदस्यका सत्ता गठबन्धनका साझा उम्मेदवार यादवले सीके राउत बाह्य शक्तिकेन्द्रबाट परिचालित पात्र भएकोले जसपाविरुद्ध भ्रमको खेती गरेर मधेशलाई कमजोर बनाउन चाहेको आरोप लगाएका हुन् ।

सोमबार बाराको महागढीमाई नगरपालिका वडा नम्बर ६ मा चुनावी घरदैलोका क्रममा सन्चारकर्मीसँग यादवले भने, ‘सीके राउत को हुन्? कहाँबाट परिचालित छन्? के का लागि परिचालित छन्? भन्ने कुरा रहस्यमयी छ, यसबारे धेरै कुरा खोज्नुपर्छ र बिस्तारै खुल्दै जानेछ । ’ देशको सार्वभौमसत्ता र राष्ट्रिय अखण्डतालाई खण्डित गर्ने राष्ट्रघाती र देशद्रोही बनेर राउतले राजनीतिक यात्रा शुरु गरेको आरोप लगाउँदै यादवले अहिले पनि राउतको बोली र व्यवहार दुवै राष्ट्रघाती, देशद्रोही र आपराधिक चरित्रको नै भएको टिप्पणी गरे । मधेशलाई नेपालबाट टुक्राउने नारा छाडेर मूलधारको राजनीतिमा सिके राउत आइसकेका छन् नि त भन्ने प्रश्नमा यादवले भने, ‘सीके राउत अहिले पनि राष्ट्रघाती र देशद्रोही नै हुन्, किनकि उनको व्यवहार र गतिविधि अहिले पनि हिजोको राष्ट्रघातीजस्तै छ । ’

राजनीतिक एजेन्डाविहीन राउतले सिद्धान्तहीन, विचारहीन, आदर्शहीन र चरित्रहीन तथा आपराधिक मनोवृत्ति भएकाहरुले मधेसमा जातिवादको विष घोलेर समाजलाई कमजोर बनाएर फेरि मधेशीलाई गुलाम बनाउने षडयन्त्रमा लागेको अध्यक्ष यादवको आरोप छ । बारा-२ मा उपेन्द्र यादव बाहिरिया उम्मेदवार हुन् भन्ने आरोपको खण्डन गर्दै यादवले भने, ‘आफ्नै देशको नागरिक आफ्नै देशमा बाहिरिया हुन्छ कि अमेरिकी नागरिक (सिके राउत) ले लिएर आएको भाड़ाको उम्मेदवार बाहिरिया हुन्छ? यसको जवाफ वैशाख १० मा बारा-२ का जनताले दिनेछन् । ’ बारा-२ को जनताले देखाएको समर्थन र मायाले आफ्नो जीत सुनिश्चित भइसकेको दाबी गर्दै यादवले भने, ‘मतान्तर अझ धेरै बढाउनका लागि हामी जनताको घरदैलोमा पुगिरहेका छौं । ’

मधेशका दलित र उत्पीडि़त समुदायले पाएका अधिकार मधेश आन्दोलनकै उपलब्धि भएको जिकिर गर्दै यादवले भने, ‘दलित समुदायले अझै धेरै अधिकार पाउन बाँकी छ । शिक्षा, स्वास्थ्य, रोजगार र आवास दलितका मुख्य आवश्यकता हुन्, यसलाई राज्यले सम्बोधन गर्नैपर्छ । ’ सोमबारको घरदैलो कार्यक्रममा यादवसँगै नेपाली कांग्रेसका सहमहामन्त्री एवं पूर्वमन्त्री उमाकान्त चौधरी, कांग्रेस केन्द्रीय सदस्य अजय चौरसिया, कांग्रेसका जिल्ला सभापति राजेशराय यादव, महागढी नगरपालिकाका मेयर उपेन्द्रप्रसाद यादव लगायतका नेताको सक्रिय सहभागिता थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here