५३ लाख भागवण्डा गरेपछि धोबिनी स्थित झोलुङ्गे पुल ८ महिनामा बन्ने पुल ४ वर्षसम्म बनेन

0
51

वीरगन्ज,पर्सा १७  फागुन ।

पर्साको धोबिनी गाउँपालिका वडा नं. १ घोडदौडा स्थित ओरिया खोलामा झोलुङ्गे पुल निर्माणमा व्यापक भ्रष्टाचार भएको पाइएको छ । पालिकाको वडा नं. १ घोडदौडा ओरिया खोला पारि नेपाल भारतको सिमाना पर्छ । ति बस्तीका बासिन्दाहरुलाई पालिकासँग जोड्नका लागि झोलुङ्गे पुल निर्माण गर्ने योजना अनुसार पूर्व गाउँपालिका अध्यक्ष सुरेश प्रसाद कुर्मीको पालामा उपभोक्ता समिति गठन गरि ८ महिनामा पुल निर्माण सम्पन्न गर्ने गरि सम्झौता भएको थियो । तर सम्झौता भएको करिब ४ वर्ष वितिसक्दा पुल निर्माणको नाममा पुल वारिपारि एक एक वटा पिलर गाडिएको छ भने बजेट दुई चरणमा गरि सक्याइएको छ ।
पुल निर्माणको नाममा ५३ लाख बजेट निकाशा गरेर झ्वाम पारिएको छ । घोडदौडालाई पालिकासँग जोड्नको लागि ८ महिनामा झोलुङ्गे पुल निर्माण सम्पन्न गर्ने गरि २०७५ सालमा उपभोक्ता समिति र गाउँपालिकासँग सम्झौता भएको थियो । करिब ९६ लाखको बजेटमा निर्माण हुन लागेको उक्त पुल निर्माणका लागि उपभोक्ता समितिले ५३ लाख रुपैया पालिकाबाट निकाशा गराई सकेको छ तर निर्माण कार्यको नाममा १०/१० फिटको २ वटा विम्ब मात्रै खडा गरिएको छ । पालिका तत्कालीन अध्यक्ष सुरेश प्रसाद कुर्मीका नजिकका भिखमपुर पिपरा – १ निवासी सुरेश प्रसाद कुर्मीको अध्यक्षतामा गठित उपभोक्ता समितिले निर्माणको कार्यको जिम्मा लिएको थियो ।
२०७५/०७६ को जेष्ठ मसान्तमा सम्झौता भएको ४ वर्ष वितिसक्दा हालसम्म झोलुङ्गे पुल निर्माण हुन सकेको छैन । पैसा अभावमा अहिले निर्माण कार्य अलपत्र छाडिएको छ । उपभोक्ता समितिले सम्झौता भएसँगै २ पटक गरि ५३ लाख पेश्की लिई सकेको छ । सम्झौता भएकै वर्ष २०७५/०७६ मा ३५ लाख तथा २०७६/०७७ मा १८ गरि उपभोक्ता समितिले ५३ लाख पेश्की लिइसकेको छ । पेश्की पठाइएको ४ दिनभित्र बैंकबाट पुरै पैसा निकालिएको छ तर त्यो पैसा कहाँ गयो ? कसले लियो भन्ने अतो पतो छैन । हाल उपभोक्ता समितिको खातामा ६ हजार मात्रै पैसा रहेको छ ।
पालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अशोक रौनियारले उक्त पेश्की दिएका हुन् । अधिकृत रौनियारले पालिकामा एउटा मात्रै होइन, अस्पताल भवन निर्माण कार्यदेखि अन्य विकास निर्माण कार्यमा पनि निर्माण कार्य नहुँदै धमाधम पेश्की दिएका छन् । उनी सरुवा भएपछि २०७८ को असोज ८ गते प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेका राजु साहले कात्तिक १० गते उपभोक्ता समितिको नाममा निर्माण कार्य किन हुन नसकेको भनेर चिठी काटेपछि निकाशा रकम हिनामिना भएको रहस्य बाहिरिएको थियो ।

त्यस पश्चात तत्कालीन अधिकृत साहको त्यहाँबाट सरुवा भएपछि त्यो विकास निर्माण कार्य अझै अलपत्र अवस्थामा छ । पुलको बजेट नै हिनामिना हुँदा निर्माण कार्य अलपत्र परेको हो । पुल निर्माण नहुँदा स्थानीयहरु मर्कामा परेका छन् । निर्माण कार्य रोकिएसँगै धोबनी गाउँपालिकाको एउटा बस्ती  नेपालसँग सम्पर्क विहीन नै हुने गरेको छ । पुल निर्माण नहुँदा धोबिनी गाउँपालिकाको वडा नं. १ मै पर्ने करिब ३ सय घरधुरीको बस्ती पालिकासँगै सम्पर्क विहीन हुने गरेको छ । वर्षाको याममा ओरिया खोलामा बाढी आएपछि उक्त टोल पालिकासँग सम्पर्क विहीन हुने गरेको स्थानीयहरुको भनाई छ ।
केही सामान किन्नको लागि भारतमै जानुपर्ने अवस्था छ । पालिकाको कामको लागि पनि स्थानीयहरु नदी तरेर आउनुपर्ने हुन्छ, भन्दै उनीहरुले विरामी पर्दा एम्बुलेन्स जान सक्ने अवस्था छैन, यातायातको सुविधा छैन, पुल निर्माण हुँदा केही सहजता हुने विश्वास थियो तर उपभोक्ता समितिले निर्माण कार्य नगर्दा समस्या भएको स्थानीयहरुको भनाई छ ।
यसबारे प्रमुख प्रशासकीय अधिकृत महम्मद नवाज हुसेनले २०७५ सालमा उपभोक्ता समितिसँग ८ महिनामा निर्माण सम्पन्न गर्न सम्झौता भएपनि चार वर्ष विति सक्दा हालसम्म निर्माण कार्य हुन नसकेको बताए । ओरिया खोला पारी भारतसँग जोडिएको कारण उक्त बस्तीमा अपराधिक गतिविधि समेत हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै नेपाल सरकारले १ करोडको योजना ल्याएको थियो तर विडम्बना बजेटमा भ्रष्टाचार भएपछि निर्माण कार्य अलपत्र परेको हो ।
वर्षा याममा उक्त बस्ती नेपालसँग ३ महिनासम्म सम्पर्क विहीन हुने गरेको छ । यस अवस्थामा सो पुल चाँडो भन्दा चाँडो बनाउनुपर्नेमा उपभोक्ता समितिले निर्माण कार्य अलपत्र पारेपछि स्थानीयहरु मर्कामा परेको उनको भनाई छ । उपभोक्ता समितिको खातामा ५३ लाख गइसक्या छ र त्यस खाताबाट सबै पैसा गायब भएको छ, काम भने ५÷६ लाखको मात्रै भएको छ । उपभोक्ता समितिका अध्यक्षलाई पटक पटक जानकारी गराइएको छ, तर उपभोक्ता समितिका अध्यक्षबाट कुनै जवाफ नआएको कारण धरौटी रकम जफत गरि ठेक्का रद्द गर्ने गरि अर्को ठेक्का प्रक्रियामा जाने कार्य तर्फ पालिका लाग्नुपर्ने अवस्था आएको बताए ।
उपभोक्ता समितिका अध्यक्ष सुरेश प्रसाद कुर्मीका अनुसार पालिकाका तत्कालीन अध्यक्ष एवं ठेकेदार लालबाबु प्रसाद कुर्मी लगायत केही व्यक्तिले आफुसँग सादा चेकमा हस्ताक्षर गराएकोले आफूलाई केही थाहा नभएको बताएपछि यो पैसाको बाँडफाँड भएको रहस्य बाहिरिएको हो । ठेकेदार लालबाबु प्रसाद कुर्मी पालिकाका तत्कालीन अध्यक्ष सुरेश प्रसाद कुर्मीका पि.ए. हुन् । पालिकाले उपभोक्ता समिति अध्यक्ष सुरेश प्रसाद कुर्मीको नाममा पैसा खातामा पठाएपनि पैसा कसले निकाल्यो, उनैलाई अतोपतो छैन । तर स्थानीयहरुको अनुसार पालिकाका तत्कालीन अध्यक्ष र उपभोक्ता समिति अध्यक्ष, ठेकेदार लगायत केही तत्कालीन जनप्रतिनिधिहरुले एक आपसमा मिलोमती गरि उक्त पैडा

बाँडेर सक्याएको बताए ।
यसबारे धोबिनी गाउँपालिकाका अध्यक्ष मदन चौहानले पुल निर्माणको कार्य एवं नीति नियम नै भद्रगोल भइरहेकोले निर्माण कार्य ठप्प रहेको बताए । पुल निर्माण कार्यका लागि उपभोक्ता समितिलाई पटक पटक चिठ्ठी काट्दा पनि केही जवाफ नआएको बताए । उपभोक्ता समितिका अध्यक्ष सुरेश प्रसाद कुर्मीका बुहारी हाल कार्यपालिका सदस्यमा निर्वाचित भएको कारण पनि त्यही उपभोक्ता समितिले निर्माण गर्ने गरि पुनः म्याद थप्न दबाब आइरहेको जानकारी अध्यक्ष चौहानले जानकारी दिए ।
उनका अनुसार झोलुङ्गे पुल निर्माणको लागि नेपाल सरकारबाट पुनः ३० लाख बजेट आएकोले र त्यही उपभोक्ता समितिलाई म्याद थप्नुपर्ने दबाब आइरहेकोले अब त्यो उपभोक्ता समितिलाई म्याद नथपी अर्को उपभोक्ता समिति गठन गरि निर्माण कार्यको जिम्मा लगाइने र पहिलाको उपभोक्ता समितिबाट हिनामिना रकम पुनः असुली कार्यको लागि पालिका लागि परेको जानकारी दिए । पुल निर्माणमा भएको भ्रष्टाचारबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी पनि परेको तर अख्तियार पनि कानमा तेल हालेर बसेको जानकारी दिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पनि यस विषयबारे पटक पटक जानकारी गराउँदा काम भइरहेको छ भनेर आलटाल गर्दै आएको अध्यक्ष चौहानको भनाई छ । बिरगंज टाईम्स

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here