आन्तरिक उडानमा इतिहासकै भयानक विमान दुर्घटना, सवार ७२ जना मध्ये ६९ को शव फेला

0
32

पोखरा (कास्की), १ माघ / काठमाडौंबाट पोखरा आउँदै गरेको यती एअरलाइन्सको विमान आइतबार बिहान दुर्घटना भएको छ । दुर्घटनामा परि विमानमा सवार ४ चालक दल सहित ७२ जनामध्ये ६९ जनाको शव फेला परिसकेको छ भने ३ जनाको खोजी कार्य जारी छ । पुरानो पोखरा विमानस्थल नजिकैको सेती खोंचमा दुर्घटनामा परेको उक्त विमानमा १५ जना विदेशी तथा ५३ जना नेपाली नागरिक सवार थिए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले दिएका जानकारी अनुसार पाँच भारतीय, रसियाका ४ जना, कोरियाका २ जना, आयरल्याण्ड, अर्जेन्टिना, अष्ट्रेलिया र फ्रान्सका १–१ जना गरि जम्मा १५ जना विदेशी नागरिक थिए ।
विमानमा सवार चालकदल एवं यात्रु सहित कोही पनि जिवित भेटिएको छैन । ६८ जना यात्रु र ४ जना चालक दलका सदस्य गरी ७२ जना सवार उक्त विमान दुर्घटना भएपछि नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र स्थानीय वासिन्दाले उद्दार गरेका थिए । विमान सेती नदीको गहिरो खोंचमा खसेकाले उद्दार कार्य निकै सकसपूर्ण बनेको थियो । प्रत्यक्षदर्शीका अनुसार दुर्घटना हुनुअघि विमान अनियन्त्रित भएको थियो । आकाशबाटै उल्टोपाल्टो हुँदै सेती डिलमा बजारिन पुगेको थियो ।
स्थानीय वासिन्दा र सर्वसाधारणको ठूलो समूह विमान दुर्घटना भएको क्षेत्रमा हेर्न पुगेको थियो । भिडका कारण एम्बुलेन्स, वारुणयन्त्र आउजाउमै समस्या भएको थियो । अत्याधिक भिड हुँदा फोन नेटवर्कमा समेत समस्या आएको थियो । उद्दार तथा यात्रु खोजी गर्न समस्या उत्पन्न भएपछि क्रेनको प्रयोग गरिएको थियो । उद्दारमा खटिएका सुरक्षाकर्मीका अनुसार आइतबार साँझसम्म ६९ जनाको शव फेला परेको छ भने बाँकी ३ जनाको खोजी कार्य जारी छ । उद्दार गरिएको शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ । शवमध्ये हालसम्म ११ जनाको मात्रै पहिचान हुन सकेको छ । पहिचान नभएका बाँकी शवको डिएनए परीक्षणका लागि सोमबार काठमाडौं लगिने कास्कीका सहायक जिल्ला अधिकारी अनिल शाहीले जानकारी दिएका छन् ।

घर नै थर्काउनेगरी आएको जहाज खोँचमा गएर पड्कियो’
आइतवार मध्यान्ह पोखराको घारीपाटनबाट धुवाँको बाक्लो कालो मुस्लो उडिरहेको देखिन्थ्यो । तर केही डढेको नमिठो गन्ध अझै बाँकी छ । घारीपाटन स्थित एउटा घरको कम्पाउन्ड भित्रै विमानको झ्यालका टुक्रा, चिया खाने कप र डढेका केही सामानहरू उछिट्टिएर आइपुगे । त्यसपछि कमला गुरुङका छोराछोरी आत्तिएर घरभित्र पसे । ‘उनीहरू निकै डराएका छन् । मेरो पनि मन आत्तिएको छ । आँखैअगाडि प्लेन जलेको देखेँ,’ ४३ वर्षीया गुरुङले भनिन् । उनलाई समय ठ्याक्कै याद छैन, तर बिहान पौने ११ बजेसम्म सबैकुरा सामान्य थियो । सधैँजस्तो उनी घरको छतमा आफ्ना छोराछोरीसँग घाम तापेर बसेकी थिइन् ।
उनको घरबाट प्राय सधैँ विमानको आवाज चर्को सुनिन्छ तर आइतवार बिहान विमानको आवाज निकै अस्वाभाविक सुनिएको कारण आफूले आकाशतिर हेरेको उनले बताइन् । ‘के भएछ भनेर हेर्दा प्लेन त छतमै खस्छ जसरी आइरहेको थियो । मैले अरू बेला प्लेन त्यसरी कोल्टिएको कहिल्यै देखेकी थिइनँ,’ उनले भनिन् । आफूले हेर्दाहेर्दै विमान सेती नदीको खोँचतिर जोतिएको उनले बताइन् । ‘प्लेन तलतल गएपछि ठूलो आवाज आयो त्यसपछि केहीबेर धुवाँको कालो मुस्लो मात्र देखिएको थियो । एकैछिनमा आगो पनि बल्न थाल्यो ।’ ‘झ्यालका सिसा, चियाको मग र डढेको चोइटाहरू हाम्रो बारीसम्मै आइपुगेका छन्,’ उनले भनिन् । त्यसको केही बेरमै पोखरामा यति एअरलाइन्सको विमान दुर्घटनामा परेको खबर सबैतिर फैलियो ।
विमानमा चालकदलका चार सदस्य सहित ७२ जना सवार थिए । नागरिक उड्डयन प्राधिकरणका अनुसार विमान बिहान १०ः५० बजे अन्तिम पटक सम्पर्कमा आएको थियो । उक्त विमान अवतरण गर्न १० देखि २० सेकेन्ड मात्रै रहँदा दुर्घटना भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका एक अधिकारीले बताए । घारीपाटन वडा नं ७ का ८७ वर्षीय बबरजङ्ग गुरुङ उक्त विमान“आफ्नै घरमा ठोक्किएला जसरी आएको”बताउँछन् । तर आत्तिएर आँगनमा निस्किँदा उनले आफ्नोभन्दा “दुई घर अगाडिबाटै“ विमान फर्किएको देखे ।
विमान अवतरण हुने क्रममा दुर्घटना
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका एक अधिकारीका अनुसार विमानले अवतरण गर्न १० देखि २० सेकेन्ड मात्रै बाँकी थियो । विमान काठमाण्डौबाट १० बजेर २५ मिनेटमा उडेको थियो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल हालैमात्र सञ्चालनमा आएको हो । दुर्घटनापछि नयाँ बनेको अन्तर्राष्ट्रिय र पुरानो आन्तरिक दुवै विमानस्थल हाललाई बन्द गरिएको छ । कहिलेबाट सञ्चालनमा आउँछन् अहिले नै भन्न सकिने अवस्था छैन ती अधिकारीले भने । कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले सेती खोँचमा खसेको जहाजका तीनवटा मुख्य टुक्रासम्म पुगेर सुरक्षाकर्मीले उद्धार गरिरहेको बताएका छन् । उनले खोँचको तलसम्म पुगेर नै खोजी जारी राखिएको भए पनि जीवित व्यक्ति फेला पर्ने सम्भावना कम रहेको बताए ।
दुर्घटनाग्रस्त विमानको नालिबेली
नेपाली आकाशमा 9N–ANC कोड अंकित ATR विमानमा Pratt & Whitney Canada PW127F मोडलका दुई ईञ्जिन रहेको उक्त विमान सन् २००७ को अगष्ट १ मा निर्मित विमान हो । lsf Investec कम्पनीले खरिद गरेको सो विमान भारतीय विवादित विमान कम्पनी किङफिसरलाई लिजमा
उपलव्ध गराए पछि VT–KAJ कोडका साथ २००७ को अगष्ट १७ बाट भारतीय आकाशमा उड्न थालेको थियो । कन्स्ट्रक्सन नम्वर ७५४ रहेको सो विमान २०१२ को अन्तमा किङफिसरले फिर्ता गरेको थियो । त्यसपछि अप्रिल २०१३ मा मर्मत गरि थाइल्यान्डको नोक एयरलाई पून लिजमा उपलव्ध गराएको थियो । सन २०१९, २६ अप्रिलबाट भने नेपाली विमान कम्पनी यति एयरलाइन्सले लिजमा लिएर 9N–ANC कोडमा उडाउन थालेको थियो ।
सो विमानले आजै विहान देखि तीन उडान गरेको थियो । बिहान ७ बजे काठमाडौंबाट पोखरा र ७ः४५ मा पोखराबाट काठमाडौं फर्केर पून १०ः३२ मा काठमाडौंबाट पोखराका लागि उडेको थियो । यसरी साढे तीन घण्टामा तीन उडान गर्दा बिचमा विमानको परिक्षण गर्यो या गरेन सोचनीय छ । अविश्वसनीय यस दुर्घटनाको विमान पोखरा अन्तर्राष्ट्रिय बिमानस्थलको लागि महत्त्वपूर्ण विमान पनि थियो । यहीँ विमानले पौष ७ गते नयाँ नवनिर्मित विमानस्थलमा डेमो उडान गरेको थियो भने पौष १७ गते उद्घाटन समारोहका दिन उडान गर्ने पहिलो जहाज पनि यहि थियो । पोखरा अन्तराष्ट्रिय विमानस्थलबाट अवतरणको अनुमति पाइसकेको सो विमान के कति कारणले पुरानो पोखरा विमानस्थल नजिकै दुर्घटना भयो भन्ने यकिन जानकारी प्राप्त भएको छैन । धेरैका धेरै तर्क वितर्क आएका छन् । बस्तीमा विमान नखसेर सेती खोँचमा खसेका कारण पाइलटले विमान भित्र कुनै टेक्निकल खराबीका कारण दुर्घटना हुन सक्ने आकलनले अन्य मानवीय क्षति हुनबाट जोगाएको आभास हुन्छ ।
दुर्घटना ग्रस्त सो विमानमा ५ भारतीय, ४ रसियन, २ कोरियन, १ आइरिस, १ अर्जेन्टिनी, १ फ्रान्सेली, १ अस्ट्रेलियाली तथा ५३ नेपाली थिए । जसमा अन्य दुइ बालकहरु र तीन शिशु पनि रहेको जानकारी प्राप्त भएको छ । साथै ४ विमान कर्मचारीमा दुई एयर होस्टेस तथा दुई पाइलट थिए । नेपाली सेनाका प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीसंग सम्पर्क गर्दा वहाँले दुर्घटना ग्रस्त विमानबाट कुनै पनि यात्रु जीवित उद्दार नगरिएको जानकारी दिए । पोखराको विमानस्थलमा यति ठूलो मानवीय क्षति भएको यो पहिलो घटना हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here